तस्बीर गुगल

बैशाख ६- अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भन्नुभएको छ ।

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उहाँले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्छ भन्नुभयो । ‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ’’, मन्त्री खतिवडाले भन्नुभयो ‘‘व्यवसायी र बैंक दुबै सँगै अगाडि बढ्नसके सफलता प्राप्त गर्न सकिन्छ ।’’

उहाँले समयको प्रतिस्पर्धामा नेपाल बैंक लिमिटेडलाई लैजानुपर्ने सुझाव दिनुभयो । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले रोजगार तथा आयमूलक व्यवासाय सञ्चालन गर्नेलाई बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ऋणि सुधा पासवान र विनोद अधिकारीले बैंकको लगानीबाट हाम्रो व्यवसाय दिनप्रतिदिन मौलाउँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा महिला उद्यमशीलता, कृषि तथा पशुपक्षी व्यवसाय गर्ने नौ जनालाई रु १० लाखदेखि रु १५ लाखसम्मको कर्जा वितरण गरियो ।

रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।