वैशाख ४ – नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए ।
कामना न्यूज पब्लिकेशन प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै प्रधान सम्पादक श्रेष्ठको बुधबार बिहान ११ः४९ बजे निधन भएको जनाएको हो । ‘हामी अत्यान्तै दुःखका साथ यो खबर सम्प्रेषण गर्न बाध्य भएका छौं, हामीले हाम्रा अभिभावक, मार्गदर्शक एवम् प्रेरणाका स्रोत गुमायौं भनेर घोषणा गर्दा पृथ्वी नै भासिएको जस्तो भएको छ । आज सिंगो पत्रकारिताको धरोहर ढलेको छ, पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत पनि यस कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठले आफ्नो देह त्याग गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
करिब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण उनको राजधानीस्थित बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उनमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको थियो । स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो ।
मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई काठमाडौं ल्याएको थियो । काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।
नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पु¥याएर सघन उपचार कक्षमा उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचारमा श्रेष्ठको उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उनको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उपचार गरिँदै आएको थियो ।
वरिष्ठ पत्रकार श्रेष्ठको शव दिउँसो १ देखि ३ बजेसम्म भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछिअन्त्येष्टि गरिने पत्रकार दीपक रिजालले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्