

काठमाडौं : हिन्दु राष्ट्र पुनर्स्थापना लगायत २२ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको राप्रपाले बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ। बुधबार र बिहीबार देशव्यापी घरदैलो कार्यक्रम सुरु गरेको राप्रपाले शुक्रबार धर्म निरपेक्षताविरुद्ध ब्यानर र पोष्टर जलाउन लागेको हो।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बैशाख ६ गतेको कार्यक्रम विगतदेखि हालसम्म सञ्चालन भएको हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलनको संश्लेषण गर्ने बताए। उनले भने- ‘संविधानका आधारभूत मान्यतामा हाम्रो असहमति छ, गणतन्त्र, धर्म निरपेक्षता र संघीयताबारे हामीले फरक मत राख्दै संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं, संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण रुपमा आफ्नो मान्यता स्थापित गर्न संघर्षरत छौं।‘
राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा बैशाख ८ गते राजमार्ग र चोकमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आफ्ना मागबारे सरकार गम्भीर नभए दोश्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरिने श्रेष्ठले बताए।
गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागको प्रचारका लागि गत फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्