हिन्दू राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धर्म निरपेक्षताको ब्यानर र पोस्टर जलाउने भएको छ।राप्रपाले बुधबार र बिहीबार देशव्यापी घरदैलो गर्दै गर्ने शुक्रबार धर्म निरपेक्षताको ब्यानर र पोस्टर जलाउने कार्यक्रम सार्वजनिक गरेको हो।गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना मागका पक्षमा जनमत सिर्जना गर्न यसअघि नै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ। त्यस्तै राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रित कार्यालयमा भ्रष्टाचारको अन्त्य लगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम पनि सम्पन्न गरिसकेको राप्रपाले जनाएको छ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बैशाख ६ गतेको कार्यक्रम हालसम्म सञ्चालन भएको हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने प्रस्थानविन्दुका रुपमा रहने बताए।
‘संविधानका आधारभूत मान्यतामा हाम्रो असहमति छ, गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बारे हामीले फरक मत राख्दै संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं’, उनले भने, ‘संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण रुपमा आफ्नो मान्यता स्थापित गर्न संघर्षरत छौं।’बैशाख ६ गते रत्नपार्कमा हुने प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्षका संयोजक बुद्धिमान तामाङ लगायतका नेताहरू सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस्