बैशाख ३- चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ। उनीहरुले दैनिक एक घन्टा ४४ मिनेट खानका लागि बिताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ।

नागरिकहरुको दैनिकी सम्बन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामीण तथा सहरी क्षेत्रका गरी ४८ हजार ५८० जनालाई उनीहरूको दैनिकी तथा बानीका बारेमा सोधेका थिए।

सर्वेक्षणमा सहभागीहरु १५ वर्षका थिए। सन् २०१८ मा गरिएको सर्वेक्षणमा देशका ११ प्रदेशका किशोर सहभागी भएका थिए।

सर्वेक्षणका अनुसार औसतमा हरेक चिनियाँ दैनिक ९ घन्टा १९ मिनेट सुत्ने गरेको पाइएको छ। त्यसैगरी उनीहरुले पैसा कमाउने काममा चार घन्टा २४ मिनेट औसतमा काम गर्ने गरेका अध्ययनले देखाएको छ।

चिनियाँ नागरिकहरुको सामाजिक काममा सम्लग्न हुने समय भने निकै कम देखिएको छ। दैनिक २४ मिनेट मात्रै उनीहरु सामाजिक काममा समय बिताउने गरेका छन्।

सर्वेक्षणमा सहभागीहरुले शारीरिक सम्बन्धका लागि दिने समय, पैसा लिने र नलिने कामका लागि बिताउने समयको पनि सर्वेक्षणकर्ताहरुले विवरण लिएका छन्।

त्यसैगरी उनीहरुले फुर्सदको समयमा के गर्छन्, पढ्न र घुम्नका लागि कति समय दिन्छन्, बिदाको दिन वा बिदा नभएको दिन केके गर्छन् भन्ने बारेमा पनि अध्ययन गरेका छन्।

महिलाहरुको तुलनामा पुरुषहरुले दैनिक एक सय मिनेट बढी काम गर्ने गरेको पाइएको छ। तर पारिश्रमिकता नपाइने घरको काम र बच्चा हेर्ने कामका लागि भने महिलाहरुले दैनिक तीन घन्टा ४८ मिनेट बिताउने गरेका छन्। जबकि यही कामका लागि पुरुषहरुले भने दैनिक ९० मिनेट मात्रै दिने गरेका छन्।

चीनमा सबैभन्दा धेरै समय काम गर्नेमा २५ देखि २९ वर्ष उमेर समूहका नागरिक रहेका छन्। उनीहरुले दैनिक आठ घन्टा छ मिनेट काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणमा सहभागीहरुले दिएको उत्तर अनुसार फुर्सदको समयमा उनीहरुले मनोरन्जनका लागि सबैभन्दा धेरै समय टेलिभिजन हेर्ने गरेका छन्। यस्तो समय सामान्यतः दैनिक एक सय मिनेट हुने गरेको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।