हेटौडा,२, बैशाख
सरकारले निजी क्षेत्रको लगानी भित्राउन आगामी वैशाख पहिलो साता लगानी सम्मेलन गर्ने भएको छ ।

प्रदेशको विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले आगामी ६ र ७ वैशाखमा चितवनको भरतपुरमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग कार्यक्रम गर्न लागेको हो । प्रदेश नीति तथा योजना आयोगका अनुसार नेपालमा निजी क्षेत्रसँग भएको रकम प्रदेश ३ मा लगानी गरेर काम गर्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको हो ।

‘निजी क्षेत्रलाई विकास निर्माणको पाटोमा लाग्ने यो अवसर पनि हो,’ प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटाले भने ।

कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीहरु, सभाभुख, उपसभामुख, सभासदहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु तथा वरिष्ठ अर्थविद्लगायत विभिन्न निजी क्षेत्रबाट करिब १ सय ५० जनाको उपस्थित रहने अनुमान गरिएको देवकोटाले बताए ।

प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्रमा उल्लेख गरिएको गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने योजना आयोगको छ ।

यस्तै, आधारपत्रले वार्षिक औसत आर्थिक वृद्धिदर ११ दशमलव २ प्रतिशत हुने र प्रतिव्यक्ति आय ४ लाख ५ हजार पुग्ने लक्ष्य लिएको छ । योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्ब आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । उक्त लगानीमध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।