हेटौंडा,नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा प्रदेश ३ को राजधानी हेटौंडामा ओलम्पिक टर्चको प्रदर्शन गरिएको छ ।नेपालका ओलम्पियनहरुले मुलुकको सात वटै प्रदेशको राजधानीमा ओलम्पीक टर्च प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार आज शनिवार हेटौंडामा प्रदर्शन गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । हेटौंडाको मुख्यबजारमा ओलम्पीक टर्च प्रदर्शन गर्दै एक औपचारिक कार्यक्रम गरिएको थियो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रममा ओलम्पियन जित बहादुर केसी, डम्बर कुँबर, विमला रानामगर, मेनका राउत र भक्त बहादुर सापकोटाले ओलम्पीक टर्च प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रदेश ३ प्रदेशसभाका सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी तथा जिल्लास्थित खेलप्रेमीहरुले ओलम्पियनलाई हेटौंडामा स्वागत तथा सम्मान गरेका थिए ।

प्रदेश–५ मा हुने आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च सात वटै प्रदेशको परिक्रमा गराइने भएको हो ।सातै प्रदेशको परिक्रमापछि ओलम्पिक टर्च वैशाख ४ गते नेपालगञ्ज पु¥याइने छ । प्रतियोगिताको उद्घाटन वैशाख ५ गते नेपालगञ्ज रंगशालामा हुनेछ । उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।