नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन्। तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन्।

टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नुभएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उनले बताए। उनका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो। करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो।

आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठले बताइन्। “डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँ घुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन्,” उनले भनिन्, “त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ।”

स्थलगत क्षति तथा प्रत्यक्षदर्शीको भिडियो उनले देखाइन्। पश्चिमी वायु पोखरा, चितवनहुँदै बारा,पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो। आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको थियो।

“नेपालमा पहिलो पटक देखिएको टोर्नाडोको प्रमाण सङ्कलन गर्न जरुरी थियो ,” श्रेष्ठले थपिन्, “चितवन निकुञ्जबाट बाटो बनाउन खोजेको आधार भेटिएको छ, त्यहाँबाट बैरिया पुगेको भेटियो।”

चितवनमै पनि आकाश रातो हुने गरी चट्याङ परेको तस्बिर स्थानीयले खिचेर सामाजिक सञ्जालमा राखेका थिए।

घरी टेडोमेडो र घरी चक्रका रूपमा अघि बढेको टोर्नाडोको तुलनात्मक अध्ययन सुरु गरिएको श्रेष्ठले जानकारी दिइन् । फेटा गाउँपालिकामा ढलानको घर, पिलर नभएको गारोवाला घर र कच्ची घर एक ठाउँ मिसिएको थियो।

टोर्नाडोले पक्की घरका भित्ता र छत समेत उडाएर मानिसलाई च्याप्दा धेरैको ज्यान गएको उनले बताइन्। एकै घरका चारजनासहित फेटामा मात्र १८ जनाले ज्यान गुमाएका थिए । अन्यत्रसहित गरेर २९ जनाको ज्यान टोर्नाडोले लिएको थियो।