चैत २७- झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनलाई मार्ने धम्की दिँदै ५० लाख माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले घटनामा संलग्न भएको आरोपमा लिङ्देनकै निर्वाचन क्षेत्रमा रहेको कचनकवल गाउँपालिका २ झापाका तिलकदास पराजुली र हुम्लाका प्रदिप रोकालाई पक्राउ गरेको हो ।

लिङदेनले आफुलाई ज्यान मार्ने धम्की दिने व्यक्तिबारे अनुसन्धान गर्न माग गर्दै प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । गरघटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारीको भनाई छ ।

झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार भेटघाटमा लिङ्देनले घटनामा संलग्न, त्यसको प्रयोजन र कनेक्सन समेत खुल्नेगरी अनुसन्धान गरिनुपर्ने माग गरेका छन् । एक सातादेखि अज्ञात व्यक्तिले ज्यान मार्न सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर उनले सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।