हेटौँडा,२६ चैत्र ।
तत्कालिन नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच केन्द्रीय तहमा एकिकरण भएपनि जिल्ला तथा स्थानीय तहमा हालसम्म एकता नहुदा जिल्लाको नेतृत्वको विषयमा अझै समेत अन्योलता छाएको छ ।

पछिल्लो केहि दिनमा नेकपा एकताले तिब्रता पाउने संभावना बढेसँगै मकवानपुरमा पनि आगामी अध्यक्ष को बन्ने भन्ने विषयले तिब्रता पाएको हो ।
मकवानपुरबाट अध्यक्षको लाईनमा सबैभन्दा धेरै चर्चामा दुई नाम रहेका छन् । तत्कालिन नेकपा एमालेका जिल्ला उपाध्यक्ष बद्री लम्साल तथा नेता श्रीधर पोखरेल अध्यक्षको दौडमा रहेका छन् ।

पछिल्लो समयमा नेकपामा केपी ओली तथा माधव नेपाल प्यानलले एमालेको भागमा परेको जिल्लामा आफु निकट नेतृत्व निर्माणमा लागि परेका छन् । माधव नेपालले आफ्नो प्यानलको नामनै सार्वजनिक गरि मकवानपुरको लागि बद्री लम्साललाई अघि सारेका छन् ।

उता केपी ओली प्यानलले श्रीधर पोखरेललाई अघि सार्ने संभावना रहेको छ । ओली निकट रहेका पोखरेलको पनि जिल्ला नेृतत्व पाउने उत्तिकै संभावना रहेको छ ।
दुबै नेताहरु आफु अध्यक्ष बन्नेमा ढुक्क रहेका छन । नेकपा मकवानपुरमा दुबै नेताहरुको महत्वपूर्ण भूमिका तथा संघर्ष रहेको छ । तर प्यानलको कारण को अध्यक्ष हुने भन्ने विषय अझै पनि खुल्न नसक्दा मकवानपुरे नेकपा कार्यकर्ताहरु अन्योलमा रहेका छन् ।