मकवानपुर, २४ चैत । सूचनाको हक सम्बन्धी नागरिक अभियान मकवानपुरले आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको सूचनाको हक सम्बन्धी विधयकमा संशोधनको माग गर्दै कानून मन्त्री शालिकराम जम्मकट्टेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज प्रदेश नं. ३ को आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेललाई अभियानको तर्फबाट ध्यानाकर्षण गराउँदै विधयकमा संशोधन गर्नुपर्ने उल्लेख गएको हो । त्यस क्रममा अभियानका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष कुमार अधिकारी, पत्रकार गिरिजा अधिकारी, पत्रकार महासंघका सचिव गणेशदर्पण अधिकारी, सहसचिव धर्मेन्द्र दाहाल लगायतका पत्रकार समेत सहभागी भई मन्त्री जम्मकट्टेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । यस क्रममा सूचनाको हकसम्बन्धी पुनरावेदन समितिलाई प्रदेश सूचना आयोग बनाउनुपर्ने, स्वायत्त निकायको रुपमा गठन गरिनुपर्ने, अध्यक्ष तथा सदस्यहरु छनौट

गर्न सभामुख, कानूनमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता र प्रदेश पत्रकार महासंघका अध्यक्ष सदस्य रहने व्यवस्था मिलाइनुपर्ने लगायतको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस सन्दर्भमा ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री जम्मकट्टेलले संशोधनमा आएका विषयहरु सान्दर्भिक रहेकाले आवश्यक संशोधन गरिने प्रतिवद्धता जनाएका छन् । कम स्रोत र साधन खर्च होस् र उपलब्धी पनि उच्च होस् भन्ने हिसाबले मितव्ययी गर्ने मनसायले विधयक ल्याइएको स्मरण गराउँदै मन्त्री जम्मकट्टेलले संशोधनमा आवश्यक व्यवस्था गर्न सकारात्मक रहेको बताए ।

ध्यानाकर्षण बुझाइसकेपछि पत्रकार तथा अभियन्ता गिरिजा अधिकारीले कानून मन्त्रालय मातहत सूचनाको हक पुनरावेदन समिति राख्न नहुने धारणा व्यक्त गरे । यसलाई छुट्टै निकायको रुपमा स्थापना गरी अध्यक्ष कम्तीमा पनि प्रदेशको प्रमुख सचिवभन्दा माथि रहने व्यवस्था गर्न उनले मन्त्री जम्मकट्टेलको ध्यानाकर्षण गराए ।
सूचनाको हक नागरिक अभियान मकवानपुरका अध्यक्ष कुमार अधिकारीले मन्त्री जम्मकट्टेलले सूचनाको हक सम्बन्धी विधयक ल्याउनु सकारात्मक भएको भन्दै यसमा नगरी नहुने संशोधन हुने अपेक्षा राखे ।