काठमाडौँ । आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले हैदरावादलाई ४० रनले पराजित गरेको हो । मुम्बईले दिएको १३७ रनको लक्ष्य पछाएको हैदरावाद १७.४ ओभरमा ९६ रन बनाउदा अलआउट भएको थियो ।

हैदरावादको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा मुम्बईका वेस्टइन्डियन्स बलर अल्जारी जोसेपले आइपिएलको इतिहासकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएका थिए ।

अल्जारीले ३.४ ओभरमा एक मेडनसहित १२ रन दिएर ६ विकेट लिएका थिए । उनले यसअघि आइपिएलको पहिलो संस्करणमा पाकिस्तानका सोहेल तनवीरको ४ ओभरमा १४ रन दिएर लिएको ६ विकेटको रेकर्डतोड्दै मुम्बईलाई जित दिलाएका हुन् । आइपिएलमा अल्जारीको यो डेभ्यु खेल समेत हो ।

हैदरावादका लागि दिपक हुद्दाले सर्वाधिक २० रन बनाए भने मनिष पाण्डे र जोनी बैरस्ट्रवले १६-१६ रन र डेभिड वार्नरले १५ रन बनाएर आउट भएका थिए । त्यस्तै मुम्बईका लागि राहुल चहरले २ विकेट लिए भने जसप्रित बुमराह र बेहरेनड्रोफले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला बय्टिंग गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै १३६ रन बनाएको थियो ।

मुम्बईका लागि केरन पोलार्डले सर्वाधिक ४६ रन बनाएका थिए । त्यस्तै क्वेंटडी ककले १९, इशान किशनले १७, हार्दिक पाण्डेयले १४ रनको योगदान दिएका थिए ।

हैदरावादका सिद्धार्थ कौलले २ विकेट लिए भने भुवनेश्वर कुमार, सन्दीप शर्मा, मोहमद नावी र राशिद खानले एक एक विकेट लिएका थिए ।

आइपिएलमा अहिलेसम्म खेलेका ५-५ खेलमा मुम्बई र हैदरावादले ३-३ खेलमा जित हासिल गरेका छन् भने २-२ खेलमा हार बेहोरेका छन् ।

आइपिएल अन्तर्गत आज दुई खेल हुदैछन् । जसमा पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीच हुदै छ भने दोस्रो खेल राजस्थान रोयल्स र कोलकोता नाइटराइडर्सबीच हुदै छ ।