२३ चैत । चिकित्सकले फागुन १ गते जचाउँदा भनेका थिए, ‘फेरि अर्को अप्रेसन चैत २२ मा गर्नुपर्छ, २० गते सम्पर्क गर्नुस् ।’ मैले त्यसै गरेँ । २१ गते बिहीबार बिहान ९ बजे भर्ना भएँ, वीर अस्पतालको ग्यास्ट्रो सर्जरी बेड नम्बर १९३ मा । चिकित्सकले चेकजाँच गरे । पहिलेझैं रगत, ईसीजी, एक्सरे गर्न भने । त्यसै गरेँ । सबै ल्याबका रिपोर्ट फाइलमा ठिक्क पारेँ ।

बिहीबार बेलुका चिकित्सकले भने, ‘ल खाली पेट बस्नू । शुक्रबार बिहान अप्रेसन हुन्छ ।’ केही खाइनँ, खाली पेट बशुल्क हजार रुपैयाँ पनि बुझाएँ । चिरफारका सामान र बेहोस पार्न आवश्यक सबै औषधि किनेर ल्याएँ, ठिक्क पारेँ ।मनका कुरा खेलिरहेँ– कति दिन अस्पताल बस्नुपर्ने हो । अझ अर्को अप्रेसन गर्न पर्ला/नपर्ला । कतिबेला उज्यालो हुन्छ र अप्रेसन सुरु गरिएला भन्ने भइरह्यो ।यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

पेट खाली थियो । भोक लाग्ने नै भयो । दिसा गर्ने ठाउँमा काट्नुपर्ने भएकाले इन्फेक्सनको बढी सम्भावना थियो । त्यसैले बिहीबार दिउँसो १२ बजेदेखि खाली पेट बसेको थिएँ । हरक्षण अप्रेसनको चिन्ता मनमा भइरह्यो । यो अप्रेसन सक्न पाए, केही बिसेख हुन्थ्यो कि !

दिसा गर्ने ठाउँमा चिर्नुपर्ने भएकाले पेट खाली गराउन साबुनपानीको झोल गुद्द्वारबाट छिराउनुपर्ने हुन्छ । पेटमा पानी परेको केही सेकेन्डमै दिसा लाग्छ । ६० बेड रहेको ठाउँमा दुइटा शौचालय थिए । कुरुवाको संख्या त्योभन्दा बढी । फोहर र दुर्गन्धले शौचालय जानै नपरे हुन्थ्यो भन्ने लाग्ने । ट्वाइलेट खाली नहुने समस्याले पहिल्यै कसैलाई ट्वाइलेटभित्र चुकुल लगाएर बसाउन म अभ्यस्त भइसकेको थिएँ । किनकि, साबुनपानी पेटमा परेको २ सेकेन्डमै दिसाले अत्याउँछ । शुक्रबार बिहानै अप्रेसनका लागि चिकित्सक आएर सबै हेरे/जाँचे । ‘ठीक छ’ भने । गए । अप्रेसनमा लैजान ह्विलचियर लिएर आउलान् भन्दाभन्दै निदाएँ । दिउँसो १२ बजेसम्म कोही आएनन् ।