file photo

म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा नेपाल भारतसँग पराजित भएको छ।भर्खरै सम्पन्न खेलमा नेपाल भारतसँग ३-१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा नेपालले भारतलाई १-१को बराबरीमा रोकेपनि दोस्रो हाफमा दुई गोल खान पुग्यो।

ओलम्पिक छनोटमा यो नेपालको लगातार दोस्रो हार हो। यसअघि नेपाल आयोजक म्यानमारसँग ३-१ ले नै पराजित भएको थियो। योसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ।

खेलमा भारतले अग्रता लिएपनि नेपालले बराबरी गोल फर्काएको थियो। खेलको छैटौं मिनेटमा बल क्लियर गर्ने क्रममा डिफेन्डर पुनम जार्घामगरलाई लाग्दै बलले जाली चुमेपछि पछि परेको नेपालले एक मिनेटमै बराबरी गोल फर्कायो।

सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा नेपालकी कप्तान निरु थापाले बराबरी गोल फर्काएकी थिइन्।खेलको ६० औं मिनेटमा सन्ध्या र ७८ औं मिनेटमा कप्तान अशलता देवीले पेनाल्टीमा गोल गर्दै भारतलाई ३-१ को जित दिलाएकी थिइन्।समूह ‘ए’ मा नेपालले अन्तिम खेलमा अब मंगलबार इन्डोनेशियासँग खेल्नेछ।