मेरो १५ वर्षे छोरा कोठाबाट चिच्याउँछ, ‘१५ मिनेट पर्खनुहोस् है, म साथीसँग एक्सबक्स खेल्दैछु।’

म सोध्छु, ‘को साथी ?’

‘स्कजबल’

‘स्कजबल? कस्तो नाम हो यो ? साँच्चैको हो ?,’ म अलमलिएर सोध्छु।

‘खै, मलाई थाहा भएन।’

‘कहाँको हो?’

‘खै, क्यानडा कि फ्रान्सको हो…ह्या जहाँसुकैको होस्, अब फरक पर्दैन । ऊ गइसक्यो । उसको साटो एउटा ‘बोट’ले खेल्दैछ।’

‘खत्तम भएछ । तिम्रो साथीको ठाउँ आर्टिफिसियल इन्टेलिजेन्सले लिएछ,’ म उसलाई ढाडस दिने प्रयास गर्छु।

‘केही फरक पर्दैन, बाबा । सधैं यस्तै हो । खेल चलिरहन्छ ।’

आजभोलिका ‘गेमर्स’ । मान्छे होस् वा बोट खासै फरक पर्दैन । एकअर्कालाई साथी भन्छन्।

मलाई भने उनीहरूको सम्बन्ध खोक्रो लाग्छ । स्कजबल र मेरो छोरा कसरी साथी हुनसक्छन् ? म बुझ्न सक्दिनँ। चिन्ता लाग्छ।

मेरो पालामा त साथीलाई देख्न, भेट्न सकिन्थ्यो । मित्रता अनुभव गर्न पाइन्थ्यो । त्यसपछि इन्टरनेट आयो।

इन्टरनेटको जमानाका बालबालिकाले मेरो समयमा जस्तो मित्रता गुमाउँछन् कि भन्ने डर लाग्न थालेको छ । के मलाई मात्रै यस्तो लागेको हो?

हाम्रो जीवन डिजिटल ‘स्पेस’मा बित्न थालेको छ । औसत किशोरकिशोरीले दैनिक नौ घण्टा समय ‘अनलाइन’ बिताउँछन् । मैले पढाउने कलेजका विद्यार्थीहरू झण्डै १२ घण्टा मोबाइल, ट्याब्लेट वा कम्प्युटरको स्क्रिनमा व्यस्त हुने बताउँछन् । आजभोलि अधिकांश ‘होमवर्क’ अनलाइन मै जो हुन्छन्!

सन् २०१८ को पिउ रिपोर्ट अनुसार १८ देखि २९ वर्षका झण्डै ९० प्रतिशतले सामाजिक सञ्जाल नियमित प्रयोग गर्छन् । सन् २०१६ मा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यस्तो चेतावनी दिएको थियो – ‘आवश्यकताभन्दा धेरै अनलाइन मिडिया प्रयोग गर्ने बालबालिका इन्टरनेटको लत लाग्ने जोखिममा छन् । भिडियो गेम धेरै खेल्नेलाई इन्टरनेट गेमिङ डिस्अर्डर हुने जोखिम छ।’

यो डिजिटल ‘युटोपिया’बारे सिलिकन भ्याली पनि संशयमा छ – ३२ प्रतिशत ‘टेक प्रोफेसनल’ आउने दशकमा डिजिटल जीवनले मानसिक स्वास्थ्यमा क्षति पुर्‍याउने विश्वास गर्छन्।

सन् २००५ तिर औसत साथीहरूको संख्या तीनबाट घटेर दुईमा झरेको मानिसहरूले बताए । सन् २००६ को अध्ययनमा झण्डै २५ प्रतिशत सहभागीले जीवनमा विश्वासयोग्य पात्र कोही नभएको बताए । किशोरकिशोरीले ‘इन्टिमेसी’भन्दा ‘इफिसियन्सी’लाई बढी महत्व दिने गरेकोले यो ‘ट्रेन्ड’ बढ्दै गएको पछिल्ला अध्ययनहरूमा देखिएको छ ।

यद्यपि, अनलाइन हुर्किरहेका युवाबीच आत्मीयता गुम्नु चिन्ताको विषय बनेको देखिँदैन । विरलै भेट हुने ‘अनलाइन फ्रेन्ड्स’को विशाल सञ्जालले सामाजिक सहारा दिएको उनीहरू बताउँछन् । कतिको त ‘प्रत्यक्ष भेट’ पनि कहिल्यै हुँदैन । धेरैभन्दा धेरै ‘लाइक’ पाउनु र अन्य प्रकारको डिजिटल ‘ग्रुमिङ’ नै उनीहरूको अन्तरक्रियाको माध्यम हो । यसरी नै उनीहरू एक–अर्कासँग अन्तरक्रिया गर्दछन् ।

तर के यी युवाले जीवनमा के गुमाइरहेका छन् भनेर थाहा पाएका छन् त ? अनि त्यसले महत्व पनि राख्छ कि ?

जापानमा सामाजिक ‘आइसोलेसन’ वृद्धि भएको छ । झण्डै पाँच लाख जापानी युवा ‘हिकिकोमोरी’को जीवन बिताइरहेका छन् । हिकिकोमोरी अर्थात् घरबाट कहिले बाहिर ननिस्कने वैरागीहरू । उनीहरू एक्लोपन मनपराउँछन् । बेलायतले त ‘एक्लोपनको मन्त्री’ नै सिर्जना गरेको छ । एउटा नयाँ सर्वेक्षण अनुसार, ८६ प्रतिशत बेलायती र अमेरिकी नागरिक ‘प्रविधिको बढ्दो प्रयोग’ले समाजबाट एक्लो बनाएको विश्वास गर्छन् ।

अरस्तुले भनेका छन् – आनन्द र उपयोगिताको मित्रता सजिलै बन्छ र सजिलै बिग्रन्छ किनभने यस्ता सम्बन्ध कमजोर हुन्छन् । कुनै स्वार्थ नभएको सम्बन्ध र मित्रकै लागि गाँसिएको मित्रता नै गहिरो मित्रता हो, निस्वार्थ मित्रता हो । तर यस्ता साथीहरू एकाध मात्रै हुन्छन् । यसका लागि धेरै समय, काम र मेहनत गर्नुपर्छ । दुईको जीवन एकअर्कासँग घुलमिल भएको वा बाँधिएको हुनुपर्छ । उनीहरूसँग बिताउने समयलाई महत्व दिनुपर्छ र एकअर्काका लागि त्याग पनि गर्नुपर्छ ।

कक्षाका सहपाठी र कार्यस्थलका सहकर्मी साथी बन्नसक्छन् । एउटै टिमका खेलाडी, सांगीतिक समूहका सदस्य, पतिपत्नि, धार्मिक वा सैन्य सहकर्मी सबै साथी बन्नसक्छन् । यी उदाहरणले वास्तविक मित्रताका तीन आवश्यकता प्रस्तुत गर्दछन् – साझा अनुभव, निष्ठा र साझा विचार वा मानसिक ‘कनेक्सन’ ।

अनि डिजिटल संसारमा के हुन्छ त ? हाम्रा ‘अनलाइन फ्रेन्ड्स’ले विचारको आवश्यकता पूरा गर्छन् किनभने हामी भाषाको वृहत प्रयोग गरेर सञ्चार गर्दछौं । एकअर्कालाई दीर्घकालीन लक्ष्य, निराशा, विश्वास र मानसिक जीवनका विविध पाटाहरू बाड्छौँ । चाहे ते स्कजबल होस् वा कहिले नभेटेको फेसबुकको साथी!

अनलाइन मार्फत व्यक्तिसँग अनुभव बाँड्न सकिन्छ तर प्रत्यक्ष भेटको दाँजोमा यो गहिरो हुँदैन । परस्पर हुने अन्तरक्रियामा अनलाइन गतिविधिले (सामाजिक सञ्जाल, गेमिङ) मित्रताको सम्बन्ध पक्कै बलियो बनाउँछ । तर के यसले त्यो मित्रताको सम्बन्ध बनाउँछ र?

उदाहरणका लागि अनलाइन टिमसँग ‘कल अफ ड्युटी’ खेल्ने किशोरकिशोरीले सामुहिक भावनाको अनुभव गरिरहेका हुन्छन् । जस्तै मेरो छोराको टुकडीले दुश्मनको जंगी समान कब्जा गर्न सहकार्य गर्नैपर्छ । यी साझा साहसिक कार्यले डोपामाइनको आनन्द पक्कै दिन्छ, त्यसैले त्यहाँ आत्मीय सम्बन्धजस्तो अनुभव हुन्छ । यद्यपि अनलाइन मित्रहरू डोपामाइनका ‘डोज’ होइनन् । मतभेद नभई उनीहरूलाई सजिलै त्याग्न सकिन्छ । खासमा, उसलाई स्कजबल को हो, कहाँ बस्छ अथवा महिला हो कि पुरूष, अथवा मान्छे नै हो कि कुनै बोट केही थाहा हुँदैन।

धेरै अनलाइन अन्तरक्रियाहरूमा गहिरो मित्रताका लागि आवश्यक पर्ने ‘उपस्थिति र सामिप्य’ विकास भएको देखिँदैन । मित्रतामा ‘सँगै हुने’ र ‘अरूका लागि गर्ने’ भाव हुन्छ । सामाजिक सञ्जाल साइटमा ‘सँगै हुनै’ र ‘अरूका लागि गर्ने’ भन्ने भाव खासै देखिदैंन किनभने त्यहाँ गुमाउनुपर्ने खासै केही हुँदैन।

महत्वपूर्ण कुरा – डिजिटल जीवनको ‘साझा स्थान’ बिना स्वरूपको स्थान हो । एकअर्कालाई छुन, सुँघ्न, अनुहारको भाव वा मनःस्थिति थाहा पाउन सकिदैंन । यस्ता कुराको फेहरिस्त लामै हुन्छ।

सम्भवतः मित्रताको सबैभन्दा गहिरो विशेषता नै ‘अरूका लागि गर्ने’ भावना हो । अप्ठ्यारो परिस्थितिमा साथीले सहयोग गर्छ । बिरामी हुँदा औषधि वा तातो पानी दिन्छ । पारस्परिक गतिविधिको स्वरूप मार्फत निर्माण गरिएका बलिया सम्बन्धले मात्रै वास्तविक त्याग प्रोत्साहन गर्ने शक्ति राख्छन् । तर अनलाइन साथीहरूले मित्रताको मेहनत किन गर्लान् ? प्रष्ट छैन । अप्ठ्यारो परेको बेला, बिना स्वरूपको मेरो अनलाइन साथी, थोरै आवश्यकता र माग भएका प्रतिरोधशून्य अनलाइन साथीतिर फर्किएलान् र?

विद्यार्थीहरूलाई बिरामी पर्दा तातो पानी ल्याइदिने व्यक्ति जीवनमा कोही छन् कि भनेर सोधें । मेरो ढुंगे युगिन प्रश्न उनीहरूले हाँसोमा उडाए । भन्छन् – ‘ग्रबहब’ वा ‘उबरइट्स’बाट अनलाइन अर्डर गरे भइहाल्यो नि!

अन्त्यमा, मित्रता र डिजिटल जीवन सम्बन्धी तीनोटा सम्भावना छन् ।

पहिलो, डिजिटल जीवनले मित्रताको सबै महत्वपूर्ण आवश्यकताहरू नक्कल गर्दछ, त्यसैले चिन्ता गर्नुपर्ने केही छैन । मलाई यसमा शंका छ । डिजिटल जीवनले मानिसको वास्तविक जीवन ‘भर्ने र सोस्ने’ काम गर्छ । मानिसले खेलकुद, कलाजस्ता मित्रताका मानक कार्यमा संलग्न हुनुपर्दैन । यसरी डिजिटल जीवनले निश्चित प्रकारको ‘सामाजिक पृथकिकरण’ गराउँछ । वा, डिजिटल जीवनले झूटा मित्रता उत्पादन गर्दछ । अर्काे शब्दमा, किशोरकिशोरीले वास्तविक साथीको अभाव छ भन्ने पत्तै पाउँदैनन्!

हुनसक्छ – प्रविधिलाई लिएर हाम्रो डर अतिरञ्जित हुनसक्छ । औसत अमेरिकी बालबालिकाले प्रत्येक दिन विद्यालयमा ‘प्रत्यक्ष’ सामाजिक समय अत्यधिक पाउँछन् भनेर मेरो छोराले स्मरण गराउँछ।

साथीहरूसँग के गर्छाैं भनेर सोध्दा उसले भनेको थियो, ‘ह्याङ आउट । खाजा खाँदा र खाली समयमा फोनमा मल्टिप्लेयर गेम्स खेल्छौं । केटीहरू र शिक्षकको कुरा गर्छौं । एकअर्कालाई होमवर्क गर्न सघाउँछौं । एकअर्काको खिल्ली उडाउँछौं र मिम हेरेर हाँस्छौं । केही ठट्टा पनि गर्छौं।’

असल साथी को हो भनेर सोध्दा उसले भन्यो,‘साथीहरूको साझा इन्टेरेस्ट हुनुपर्छ । मलाई हँसीमजाक गर्ने व्यक्ति मनपर्छ । मेरो विचारमा उनीहरू विनम्र र वफादार हुनुपर्छ । तर आलोचना गर्न र सहनसक्ने पनि हुनुपर्छ।’

यी शालिन आवश्यकताहरू मेरैजस्ता छन् । मेरो आफ्नै मित्रतामा,  नहुनुभन्दा कमीकमजोरी भएको सम्बन्ध स्वीकार्छु । त्यसैले मैले पनि त्यही यथार्थ मेरो छोराको पुस्तालाई दिनुपर्छ होला भन्ने ठान्दछु।

खासमा, अनलाइन जीवनबारे जति बढी थाहा पाउँछु, त्यति नै बढी मित्रताको मेरो बुझाइमाथि शंका बढ्दै जान्छ।
बिबिसिको एउटा रिपोर्टले मेरो मन छोएको थियो । चकित पनि भएँ । म्याट्स स्टिन अपांग थिए । २५ वर्षको उमेरमा मृत्यु हुँदा ‘वल्ड अफ वारक्राफ्ट्स’को ‘भर्चुअल स्पेस’मा उनले थुप्रै समर्पित साथीहरू जम्मा गरेका थिए । त्यो संसारमा उनी ‘मस्कुलर’ अवतारमा थिए।

स्टिनले ब्लगमा लेखेका छन् – ‘त्यहाँ मेरो अपांगताले केही फरक पर्दैन । मलाई बाँध्ने साङ्लो तोडिएको छ र म मैले चाहेको जो पनि बन्नसक्छु । त्यहाँ म आफूलाई सामान्य अनुभव गर्छु।’

नजिकका मित्रहरूले पनि स्टिन अपांग हुन् भन्ने थाहा पाएनन् । एकपटक नजिक भएपछि लैंगिकता, जात, धर्म, स्थान, उमेर, क्षमताजस्ता सामान्य पूर्वाग्रहबारे उनीहरू रातभर कुरा गर्थे । दैनिक जीवन संघर्षको सानातिना विवरण बाँड्दा–बाँड्दै उनीहरूको आत्माले रहस्यमयी सम्बन्ध बनाउन पुग्यो । केही अनलाइन मित्रहरू स्टिनको अन्त्येष्टिमा सरिक हुन नेदरल्यान्ड्सबाट आए । मित्रताको तराजुमा कसैलाई तातो पानी ल्याइदिनुभन्दा यो कयौं गुणा महत्वपूर्ण र गह्रौं प्रमाण हो।

अनलाइन जीवनबारे हाम्रा चिन्ता स्वाभाविक र अपरिहार्य भएको मान्दछु । सामाजिक विश्वमा हामीले यस्तो कहिले देखेका थिएनौं । तर हुनसक्छ, हुनसक्छ बच्चाहरू सही हुन् ! त्यो स्कजबल पनि ।

-स्टिफन टि एज्मा

स्टिफन एज्मा कोलम्बिया कलेज सिकागोमा दर्शनशास्त्रका प्राध्यापक हुन्  ।  यो न्यूयोर्क टाइम्समा प्रकाशित लेखको अनुवाद हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।