एएफसी यू–२३ छनोट प्रतियोगिता समूह ए अन्तर्गतको दोस्रो खेलमा नेपाल ५-० ले पराजित भएको छ ।गएराती सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग पराजित भएको हो । खेलको पहिलो हाफमा एक गोलमात्र खाएको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो ।खेलको २५ औं मिनेटमा नेपालका डिफेन्डर अनन्त तामाङले हसन अहमद पलङलाई डी–बक्सभित्र फल गरेपछि कतारले पेनाल्टी पाएको थियो । जुन पेनाल्टीलाई अब्दुल्लाह अलाहरकले गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको कतारले ५३औं मिनेटमा अग्रता दोब्बर बनायो । बसम अल रवीले करिव ३५ यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । ६०औं मिनेटमा नेपालले तेस्रो गोल खायो ।

खलिफा सादले हानेको बल रोक्ने क्रममा डिफेन्डर दिनेश राजवंशीले आफ्नै  पोस्टमा गोल गर्न पुगे । ७९औं मिनेटमा बासम अल रवीले फ्रिकिक मार्फत ब्यक्तिगत दोस्रो गोल गर्दा कतारले चार गोलको अग्रता लियो । खेलको इन्जुरी समयमा गोलकिपरको गल्तीका कारण नेपालले अर्को गोल खाएको थियो ।

अर्को चरणको आशा कायम राख्नका लागि पनि नेपालले खेल जित्नै पर्ने दबाब रहेका बेला ब्यहोरेको यो हारका कारण नेपाल छनौट चरणबाट बाहिरिएको छ । अब नेपालले अन्तिम खेलमा आफगानिस्तानविरुद्ध उत्रिनेछ । अफगानिस्तान पनि लगातार दुई हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।