file photo

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो हत्या गर्न खोजेको खुलासा गरेका छन् । वाईसीएल नेपालले नेकपाको पेरिसडाँडा कार्यालयमा बिहीबार आयोजना गरेको शहीद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विप्लव समूहले आफ्नो हत्या गर्न खोजेको खुलासा गरेका हुन् ।

‘साथीहरू † नयाँ बाटो खोज्नुस्, साँच्चै केही गर्नु छ भने प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रम हो । त्यो भ्रमले कहीँ पनि पुगिँदैन । यसको परिणाम दुर्भाग्य हुन्छ । मैले हिजोका साथीहरूलाई लगातार यो सल्लाह दिइराखेको छु,’ दाहालले भने, ‘हिजोसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुटसमेत गरेको मलाई सूचना आएको छ ।’

उनले विप्लवलाई आफ्नो नक्कल गरेर दाहाल नहुने बताए । उनले विप्लव नेतृत्वको नेकपालाई विद्रोहको बाटो नभई नयाँ बाटो खोज्नसमेत अपिल गरे । दाहालले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे ।

‘साथीहरू † कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो, म पनि अब यसै गर्छु भन्दै हिँडेको पनि भेटियो,’ उनले भने, ‘सजिलो छैन, प्रचण्ड बन्न पनि । कसैले चाहेर पनि भइहाल्ने होइन । म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइनँ, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाई प्रचण्ड बनाइदिए । अब त्यही समयमै प्रचण्ड बनिँदैन ।’

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।