फागुन ३०- क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा चर्चित फुटबल खेलाडी बनेका छन्। फुटबलको मात्र नभएर उनी खेलाडीहरुमध्ये नै विश्व चर्चित खेलाडीको एक नम्वरमा रहेको तथ्याङ्का चर्चित स्पोर्ट्स अनलाइन इएसपिएन ले सार्वजनिक गरेको छ।

‘इएसपिएन वर्ल्ड फेम १००’ सूचीमा इटालियन लिगमा युभेन्ट्सबाट खेल्ने फरवार्ड रोनाल्डोले बास्केटबलका लेब्रोन जेम्स र फुटबलकै लिओनेल मेसीलाई पछि पारेका हुन्।

समग्रमा तेस्रो स्थानमा रहेका मेसी फुटबलतर्फ दोस्रो स्थानमा छन्। यस्तै पेरिस सेन्ट जर्मनेबाट लिग खेल्ने ब्राजिलियन नेमार तेस्रो स्थानमा छन् भने म्यानचेष्टर युनाइटेडबाट खेल्ने पउल पोग्वा चौथो स्थानमा छन्। नेमार समग्रमा चौथो र पोग्वा १२औँ स्थानमा छन्।

समग्रमा १४औँ चर्चित खेलाडी बनेका फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पे फुटबलरतर्फ शीर्ष पाँचमा अटाएका छन्।

यस्तै फ्रान्सेकृ एन्टोनी ग्रीजमन छैटौँ, जर्मनीका मेसुट ओजलि सातौँ र जर्मनीकै थोमस मुलर आठौँ स्थानमा छन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका स्पेनका आन्द्रेज इनेष्टा नवौँ र कोलम्बियाका जेम्स रोड्रिगेज दशौँ स्थानमा छन्। फुटबलतर्फ त्यसपछि चर्चित खेलाडीको सूचीमा मोहम्मद सलाह, ज्लाटन इब्राहिमोभिच, गारेथ बेल, लुइस सुअरेज, सर्गियो रामोस लगायत छन्।

क्रिकेटरमा कोहली सबैभन्दा चर्चित

यसैगरी विश्वका चर्चित क्रिकेटरहरुमा भने भारतीय खेलाडीको वर्चस्व रहेको छ। जसमा भारतका कप्तान विराट कोहलील क्रिकेटरतर्फ पहिलो र पूर्व कप्तान महेन्द्र सिंह धोनी दोस्रो स्थानमा छन्। कोहली समग्रमा सातौँ स्थानमा छन् भने धोनी १३औँ स्थानमा छन्।

कोहली र धोनीपछि चर्चित खेलाडीहरुमा भारतकै युवराज सिंह, सरेश रैना, रविचन्द्रन आश्विन, रोहित शर्मा लगायत छन्।

यस्तै टेनिसतर्फ रोजर फेडेर सबैभन्दा चर्चित खेलाडी बनेका छन्। उनी समग्रमा छैटौँ स्थानमा छन् भने टेनिसकै राफेल नाडल आठौँ स्थानमा छन्। चर्चित खेलाडीको सूचीमा पाँचौ स्थानमा आइरिस फाइटर कोनोर म्याकग्रोगेर, नवौँ स्थानमा बास्केटबल खेलाडी स्टेफेन करी र दशौँ स्थानमा गल्फ खेलाडी टाइगर उड्स छन्।महिलातर्फ सबैभन्दा चर्चित खेलाडी बनेकी टेनिसकी सेरेना विलियम्स १७औँ स्थानमा रहँदा टेनिसकै मारिया सारापोभा ३७औँ स्थानमा छिन्।

इएसपिएनले विश्वका करिब ८ सय खेलाडी छनोट गरेर त्यसबाट गुगल सर्च, इन्डोर्समेन्ट र सोसिएन मिडियामा भएको फलोवर्सको आधारमा सय चर्चित खेलाडीको सूची सार्वजनिक गरेको हो।

इएसपिएनले लगातार चौथो पटक गरेको यस सर्वेक्षणमा शीर्ष तीनमा भने कुनै परिवर्तन भएको छैन। रोनाल्डो, जेम्स र मेसी क्रमशस् पहिलो, दोस्रो र तेस्रो स्थानमा रहँदै आएका छन्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।