रौतहट,फागुन ३०- तराई मधेशमा दाइजो नलिकनै विवाह गर्ने शायद कमै होलान, मधेशी समुदायमा दाइजो विना विवाह नगर्ने प्रचलन रहेको छ तर रौतहटका कानु समुदायका एक युवकले परम्परागत कु–संस्कृतिलाइ चुनौति दिदै दाइजो नलिकनै विवाह गरेका छन ।

जिल्लाको बौधिमाई नगरपालिका वडा नं ३ का सकलदेव साह कानुको २२ वर्षिय छोरा सन्दिप कुमार साह कानुले रौतहटकै गढिमाई नगरपालिका वडा नं ४ सुन्दरपुर निवासी असनी साह कानुकी २० वर्षिया छोरी प्रतिज्ञा कुमारी साह कानुसँग गएराति विना दाइजो विवाह गरेका हुन । तराइ–मधेश क्षेत्रमा मधेशी समुदायमा विवाह गर्न केटा पक्षले किटान गरी केटी पक्षसँग नगद र जेन्सी दाईजो माग्ने प्रचलन रहेको छ । तर कानुले बेहुलीतर्फबाट दिन तयार भएको केहि पनि सम्पती नलिई सामान्य रुपमा विवाह गरेका छन ।

केटा पक्षबाट दाईजो नलिने र केटी पक्षले पनि दाईजो नदिने भन्ने समझादारी अनुसार विवाह गरिएको बताइएको छ । कानु समाज नेपाल बाराका पुर्व संस्थापक अध्यक्ष कलैया उपमाहानगरपालिका वार्ड नं ५ निवासी राम एकवाल साह कानुको अथक प्रयास र कानु समाज नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राम सागर साह कानुको विशेष सहयोगमा यो विना लेनदेनको विवाह भएको हो ।

सदियौँदेखी हाम्रो समाजमा एक कुप्रथाका रुपमा जरा गाडेको दाइजो प्रथालाई अन्त्य गर्नका लागि नै आफुले दाइजो नलिएको बेहुलाका बुवा सकलदेव साह कानुले बताउनुभयो । म जस्तै सबै बुबाले यस्तै गरे पनि एक न एक दिन यो दाइजोप्रथा अवश्य हटेर जाने उहाँको विश्वास छ । दाइजोका कारणले खास गरी गरिव परिवारलाई धेरै समस्या रहेको छ ।

दाइजो नलिइ विवाह गर्नेलाई नगरपालिकाले इनाम दिने गरेको गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले बताउनुभयो । दाईजोप्रथा लाई अन्त्य गर्ने उद्देश्यका साथ विना दाइजो विहे गर्ने केटा र केटी दुवै पक्षलाई आफुले २० हजारसम्म इनाम दिने गरेको उहाँले बताउनुभयो

-रुपेन्द्र पटेल

 

रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
[email protected]
रौतहट, खबरब्रेक संवाददाता