फागुन २१- शिवम् सिमेण्टको आईपीओ बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटले बिहान १०ः३० बजे आईपीओ बाँडफाँट गरिने जानकारी दिएको हो । शिवमले पूर्व निर्धारित प्रिमियम मूल्य घटाएर सर्वसाधारणलाई शेयर जारी गर्दा यस अघि वितरण हुन नसकेको स्थानियको शेयर समेत पुनः जारी गरेको हो ।

शिवमले स्थानियको अवतिरित ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर पुनः विक्रीमा ल्याएको हो भने सर्वसाधारणको लागि ४१ लाख २० हजार कित्ता शेयर जारी गरेको हो । यस आईपीओमा स्थानियतर्फ एक हजार ८९७ जना आवेदकले ७ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् । यसमध्ये एक जना आवेदकको आवेदन रद्ध गरिएको छ । स्थानियतर्फका कुल आवेदकमध्ये ९ सय ८० जनालाई १ लाख १ सय २० कित्ता थप शेयर दिइने भएको छ । यसअघि बढी मूल्य तिरेर शेयर खरीद गरेको स्थानियलाई थप शेयर दिन लागिएको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका लागि पहिलो चरणमा ८ लाख ८० हजार कित्ता शेयर निष्कासन गरेको थियो । त्यस समय ९ सय ८० जना आवेदकलाई तीन लाख ३६० कित्ता शेयर बाँडफाँट गरेको थियो । त्यस समयमा बाँडफाँट हुन नसकेको ५ लाख ७९ हजार ६४० कित्ता पुनः निष्कासन गरेको हो ।

त्यस्तै, कुल ५१ हजार ८९८ जना सर्वसाधारणको आवेदन परेपनि दोहोरो आवेदनका कारण १६ जनाको आवेदन रद्ध गरिएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका चिफ अपरेटिङ अफिसर सन्दीप कार्कीले जानकारी दिए । उनका अनुसार रूजु भएका ५१ हजार ८ सय ८२ जना सर्वधारणबाट ५१ लाख ८९ हजार ५६० कित्ता शेयर माग भएको छ ।

स्थानियलाई यसअघि प्रिमियम सहित तीन सय रूपैयाँमा शेयर बेचेको शिवमले यसपटक प्रिमियम मूल्य घटाएर स्थानियको लागि दुई सय रूपैयाँ र सर्वसाधारणका लागि तीन सय रूपैयाँमा शेयर बेचेको हो । पूर्व निर्धारित मूल्य सर्वसाधारणका लागि चार सय रूपैयाँ तोकिएको थियो ।

विक्री प्रबन्धकले दिएको जानकारी अनुसार बुधवारको बाँडफाँटमा ५ हजार २२० कित्तासम्म शेयर माग गर्ने आवेदकले माग बमोजिमनै शेयर पाउने छन् । त्यो भन्दा बढी पाँच हजार ६ सय ४० कित्तासम्म १० कित्ताको प्रकृयाले बाँडफाँट गरिने र बाँकी कित्ता गोलाप्रथाबाट बाँडफाँट गरिनेछ । शिवमको शेयरमा सर्वसाधारणले अधिकतम ५ हजार ६ सय ५१ कित्तासम्म शेयर पाउने विक्री प्रबन्धकको भनाइ छ । शिवमले फागुन ६ देखि १४ गतेसम्म स्थानिय र सर्वसाधारणलाई शेयर बचेको थियो।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।