सन्तोष पौडेल,आजसम्मको सबै विचारले संसारको ब्याख्या गरे । मुख्य कुरा संसारलाई बदल्नु हो । १९ औं शताब्दिमै माक्र्सले भनेका थिए । माक्र्सभन्दा अघि पनि संसारमा थुप्रै विद्धानहरु थिए । उनीहरुले विभिन्न खोज अनुसन्धान तथा दृष्टिकोणहरु प्रस्तुत गरेका थिए । ब्याख्या गरेका थिए तर माक्र्स नै पहिला भए, जसले वैज्ञानिक दृष्टिकोणका साथ संसारको ब्याख्या मात्र गरेनन्, संसार बदल्ने कुरा गरे । त्यसयता माक्र्सवादी दृष्टिकोणमा आधारित भएर संसारका थुप्रै देशमा परिवर्तनका लागि क्रान्तिहरु भए तर सोभियत युनियनको पतनसंगै संसारमा कम्प्युनिष्ट आन्दोलन धरासायि बन्न पुग्यो । माक्र्सवादीहरु भन्ने गर्छन् कि कुनै पनि कुराको उत्थान र पतनमा आन्तरिक कारण प्रधान हुन्छ, बाह्य कारण सहायक मात्र हुन्छ । कम्युनिष्ट आन्दोलन धरासायि हुनुमा सायद त्यस्तै कुनै गम्भिर आन्तरिक कारण हुनसक्छ । जस्को समिक्षा आज पनि भईरहेका छन् । त्यसो त कम्युनिष्ट आन्दोलनमाथि पुजिवादी प्रहार र षड्यन्त्रहरुलाई पनि यसक्रममा नजर अन्दाज गर्न सकिन्न ।

माक्र्सवादि विचारमा आधारित भएर संसारमा भिन्नभिनै आन्दोलनका मोडलहरु विकसित भए । चिनियाँ क्रान्ति विशेषगरी किसानहरुमा आधारित थियो भने रुसी क्रान्ति औधोगिक मजदुर वर्गमा आधारित थियो । भियतनाम, क्युवा, भनेजुयला लगाएत ल्याटिन अमेरिकि देशहरुको आफ्नै मोडल छ । भारतमा पनि लामो समयदेखी कम्युनिष्ट आन्दोलन उठ्ने प्रयास गरिरहेको छ । नेपालले २००६ सालमा कम्युनिष्ट पार्टि स्थापना भएपश्चात विभिन्न अभ्यासहरु गर्दै क्रान्तिको आफ्नै मौलिक अभ्यास ग¥यो । त्यसक्रममा तत्कालिन माओवादीले हिंसात्मक युद्ध मार्फत सर्वहारा वर्गको राज्य स्थापना गर्ने लक्ष्य राखेको थियो भने नेकपा एमालेले जनताको बहुदलिय जनवाद मार्फत नयाँ अभ्यास आत्मसाथ गरेको थियो । आज दुबै पार्टि एक भईसकेका छन् र २००६ सालमा स्थापना भई विभिन्न कालखण्डमा छिन्नभिन्न भएका कम्युनिष्ट पार्टि एउटै भङगालोमा आईपुगेका छन् । यो खुशीको कुरा हो ।

नेपालमा कम्युनिष्ट पार्टि स्थापना हुँदै गर्दा सामन्तवादको अन्त्य र देशको प्रगतिशिल रुपाण्तरण प्रमुख लक्ष्यकोरुपमा रहेको थियो । प्रजातन्त्र, न्याय र समानता, विभेदको अन्त्य लगाएतका उद्देश्य राखी स्थापना गरिएको थियो । .आज सामन्तवादको नाईकेकोरुपमा रहेको राजतन्त्र विदाई भईसकेको छ । देशमा संघिय लोकतान्त्रि गणतन्त्र स्थापना भएको छ । संविधानद्धारा राज्यको दृष्टिमा सबैप्रति समानता र समान ब्यवहार, कानुनी राज्यको प्रत्याभुति गरिएको छ । विभेदलाई दण्डनिय बनाईएको छ । मौलिक हककोरुपमा अनेकन हक अधिकारको ब्यवस्था गरिएको छ । संविधानको प्रस्तावनामै समाजवादप्रति प्रतिबद्धता ब्यक्त गरिएको छ । आजको दिनमा संविधानमा लेखिएका ति अक्षरहरु निर्जिव शब्दहरुकारुपमा अभिब्यक्त भएका होलान् तर तिनमा जिवन भर्ने काम गर्न सक्दा कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा पुग्न सक्नेमा दुई मत छैन । हाम्रो ब्यवहारबाट हाम्रो कार्यक्रमहरुबाट ति शब्दहरुमा प्राण भर्न सकिन्छ र जनतामा वास्तविक परिवर्तनको आभाष गराउन सकिन्छ । संविधानमै समाजवादप्रति प्रतिबद्धता ब्यक्त गरिएको अवस्थामा अबको हाम्रो बाटो के हुने प्रष्ट छ तर पनि हाम्रो समाजवादी लक्ष्य हासिल गर्न कम्युनिष्ट पार्टिले राज्य सञ्चालन गर्दा केके गर्ने ? पार्टि कसरी सञ्चालन गर्ने ? कार्यकर्ता कसरी परिचालन गर्ने ? आदी विषयमा प्रष्ट्रता आवश्यक देखिन्छ ।

हिजो र आजको अवस्था भिन्न छ । हिजोको सन्दर्भमा संघर्षको एउटा रुप थियो । आज बदलिएको सन्दर्भमा हाम्रो आन्दोलन र संघर्षलाई नयाँ ढंगबाट लैजानु आवश्यक छ । पञ्चयति कालरात्रीहरुमा, संवैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र, निरङकुश राजतन्त्र हुँदै संघिय लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा हाम्रो आन्दोलन र संघर्षको शैलिलाई बदल्नुपर्छ । संगठन निर्माण र परिचालनको शैलिलाई बदल्नुपर्छ । हिजोका दिनमा भएका कमिकमजोरीलाई सुधार्दै समाजवाद प्राप्तिको दिशामा अघि बढ्न अब गम्भिर समिक्षा गर्नुपर्छ । नेपालमा आजसम्म कम्युनिष्ट आन्दोलनबाट केके उपलब्धि हासिल गर्न सकियो, केके गर्न सकिएन समिक्षा हुनुपर्छ । तब मात्र नयाँ उर्जा र उत्साह सहित कम्युनिष्ट आन्दोलनलाई उठाउन सकिन्छ । कम्युनिष्ट आन्दोलन उठ्दै गर्दा मात्र यस देशको आधारभुत तहमा रहेका भोका, नाङगा, शोषित, पिडित जनताको कल्याण हुनसक्दछ । श्रमजिवि जनताको सम्मान हुनसक्दछ । विभेदलाई निमिट्यान्न पार्न सकिन्छ । प्राकृतिक श्रोत र साधनमा धनिहरुको एकाधिकारलाई अन्त्य गर्न सकिन्छ किनकि कम्युनिष्ट आन्दोलन भनेको गरिब जनताको आन्दोलन हो । यसले पुजिँवादीले जस्तो कागजी समानताको कुरा गर्दैन । पुजिँवादीहरु भन्छन्, गरि खान के ले रोकेको छ र ? धनि बन्न कस्ले छेकेको छ र ? प्रतिस्पर्धाबाट अगाडि बढ्न कहाँ ब्यवधान छ र ? उस्ले भन्छ, नदिको ढुङगा गिटि बालुवामा मैले लगानी गरेको छु, राज्यबाट लाईसेन्स लिएको छु , कर तिरेको छु, मैले कमाउन पाउनुपर्छ । यो दृष्टिदोषमा अडेको छ पुजिँवाद, उस्ले देख्दैन, नदिको त्यो ढुङगा गिटि बालुवा प्रकृतिले गरिब धनि सबैलाई समानरुपमा उपलब्ध गराएको छ । धनिको जत्तिकै त्यसमा त्यहाँका गरिबहरुको पनि अधिकार छ । पैसाकै भरमा उ त्यसको मालिक बन्न सक्दैन । उस्ले सोच्दैन, एउटा अघि र अर्को धेरै पछाडिबाट दौडिदाँ पक्षपात भईरहेको हुन्छ । एउटै रेसबाट दौडाउनुपर्छ । त्यसैले समानताभन्दा अगाडि समता आँउछ । पुजिपतिको पक्षमा सारा राज्य संयन्त्र लाग्छ, पुजिँपतिको उद्योग खोल्न राज्य लगानी सुरक्षाको ग्यारेण्टि गरिदिन्छ । बेलाबेला कर छुटको स्किम दिन्छ । जग्गा विद्युत सबै उपलब्ध गराईदिन्छ र भन्छ, तिम्लाई कमाउन सक्ने वातावरण हामी बनाईदिन्छौ तर किसानहरु मजदुरहरुको ग्यारेण्टि कस्ले लिने ? रिन लागेर उनीहरुको घर जग्गाा लिलाम हुन्छ । उनीहरुको कर छुट हुँदैन । पुजिँवादमा न्याय पनि खरिद विक्रि हुने वस्तु हुन्छ । गरिबले न्याय किन्न सक्दैन अर्थात उस्ले वकिल पाल्न सक्दैन त्यहिँनेर उस्को न्याय मर्छ । जिन्दगीभरी राज्यलाई कर तिर्ने सर्वसाधारणप्रति राज्यले कुनै कर्तब्य महसुस गर्दैन । स्वास्थ्य र शिक्षा पनि किन्नुपर्छ जनताले, परिवारले उपचार खर्च तिर्न नसक्दा एउटा गरिबको लास पनि अस्पतालमै सड्छ । सत्कज हुन पाँउदैन । यो हो पुजिँवादी चरित्र, त्यसैले न्युनतम समाजवादी चरित्रको राज्य हाम्रो वर्तमान लक्ष्य हो । यसका लागि धेरै कुरा बदल्नुपर्छ । सबैभन्दा पहिले हामी आँफै बद्लिनुपर्छ ।

आज हामी कम्युनिष्ट नेता कार्यकर्ता र पुजिँवादीहरुमा कुनै फरक छैन । हाम्रो उठ्बस, जीवन ब्यवहार, जीवनशैलि, संस्कार र संस्कृति सबै उस्तै छन् । वर्गिय भावना मृतप्राय छ । मान्छेको मुल्याङकन उसको योग्यता क्षमता र योगदानमा होईन, पैसाका आधारमा गरिने परिपाटि विकास भएको छ ।

आज हामी यस्तो अवस्थामा आईपुगेका छौं की, हामीलाई पुष्पलाल दिवस थाहा हुँदैन । मदन भण्डारी स्मृति दिवस थाहा हुँदैन । सुखानीको स्मृति दिवस, छिन्ताङ काण्ड आदीको दिन पार्टि कार्यालयमा कुनै कार्यक्रम हुँदैन तर हामी युवाहरुलाई भ्यालेन्टाईन डे थाहा हुन्छ, शुक्रबार हलमा कुन फिल्म रिलिज भो थाहा हुन्छ । कुन नेताको कहिले जन्मदिन पर्छ, थाहा हुन्छ । पार्टिको विचार आज बहसको विषय हुँदैन, कस्को विहे भोजमा, छोराको वर्तबन्धमा कस्तो पार्टि दिईयो, कति मान्छे आए, कस्ले कति कमायो, को बेलुका जाँडपार्टिको स्पोन्सर बन्न सक्छ । यस्तो चर्चा हुन्छ । जनप्रतिनिधिहरु आज कुनै उद्योगि भेट्न आयो भने दंग पर्छन तर जनताको फोन उठाउने फुर्सद हुँदैन उनीहरुसँग, उनीहरुको जीवन ब्यवहार हेर्दा लाग्छ यिनिहरु नेता कम प्रशासक ज्यादा हुन् । यस पछाडि उनीहरु जनतामा फर्किनुपर्दैन, उनीहरुको पद स्थायि हो । यदि साँच्नै नै कम्युनिष्ट आन्दोलनलाई गति दिने हो र हामीले चाहेको ब्यवस्था ल्याउने संकल्प हो भने, सम्झनैपर्छ माओले भनेका थिए, जनताको सियो धागो पनि नलिनु, जनतासंग नम्र भएर प्रस्तुत हुनु । बदल्नैपर्छ हाम्रो जीवन ब्यवहार संस्कार र संस्कृति । आफु बाहेक अरु कोहि होईन भन्ने भावना अहंकार हो । घमण्ड र अहंकारबाट जो कोहि कम्युनिष्ट कार्यकर्ता मुक्त हुनैपर्छ । विचार र ब्यवहार विचको अन्तर घटाउनैपर्छ । कुरा आर्दशवान गर्ने, ब्यवहार संकिर्ण हुनेहरु खुईलिदै जान्छन् । तिनिहरुले जनताको नेतृत्व गर्न सक्दैनन् । नेपालको ईतिहासमा कम्युनिष्ट पार्टिको नेतृत्वमा दुई तिहाईको सरकार सञ्चालन हुनु गौरवको विषय हो । यसको सफलतामा हाम्रो देशको भविष्य गाँसिएको छ । युवाको सपना जोडिएको छ । सहिदको बलिदानीको मुल्य जोडिएको छ । चौतर्फि प्रहार र घेराबन्दि भैरहँदा अरु संग सिंगौरि खेल्न जाने हामी हान्ने गोरु हेईनौं, चुपचाप कर्म गरौं । हाम्रो ब्यवहार र कर्मले हामी सफल हुनेछौं । प्रमाणित हुनेछौं । परिवर्तन अवश्यमभावि छ । परिवर्तन नियमित प्रकृया हो तर हामीले गर्ने परिवर्तन नियमितामा हुने परिवर्तन जस्तो होईन । हाम्रो नेतृत्व, सचेत हस्तक्षेप, र पहलकदमिबाट जनतामा महसुस हुने परिवर्तन हो । किनकि माक्सले भनेकै छन्, मुख्य संसार बदल्ने हो ।

( लेखक :  सन्तोष पौडेल अनेरास्ववियु केन्द्रीय सदस्य हुन्। )

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।