हेटौँडा २९ माघ,प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पूँजी बजारमा ल्याउन सके समृद्ध मुलुक निर्माणमा टेवा पुग्ने धारणा राखेका छन् । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं स्थापना दिवस तथा सहकारीले सञ्चालन गरिरहेको रेडियो मकवानपुरको नवौं बार्षिकोत्सवको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा उनले सहकारीको पूँजी परिचालन हुनै नसकेको बताएका हुन् । ‘अब सहकारी पनि उत्पादनसंग जोडिनु आवश्यक छ’, मुख्यमन्त्री पौडेलले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सबै लाग्नुपर्छ ।’ प्रदेशको विकासमा प्रतिपक्षी पनि संगसंगै रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारलाई सकारात्मक काममा सबैको सहयोग आवश्यक रहेको औंल्याए । यस्तै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विकास र समृद्धिको मुद्दामा आफूहरु प्रतिपक्षमा कहिल्यै नहुने धारणा राखे । सहकारी संस्था बचत र ऋण लगानीबाट माथि उठ्नु आवश्यक रहेको उनको सुझाव थियो । सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले सहकारीले विभिन्न क्षेत्रमा काम गर्ने योजना अनुरुप सामुदायिक रेडियो सञ्चालन गरिरहेको जानकारी दिँदै दिव्यताराले आफ्नो कार्यक्षेत्र विस्तार गरिरहेको बताइन् । ‘हामीले मकवानपुरको विभिन्न स्थानमा सम्पर्क कार्यालय खोलेर सेवा दिँदै आएका छौं’, उनले भनिन्, ‘बहुउद्देश्यीय सहकारी भएको नाताले अरु कुन कुन क्षेत्रमा काम गर्न सकिन्छ योजना बनाइरहेका छौं ।’ रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले रेडियो आवाजविहीनहरुको आवाज बन्न प्रयासरत् रहेको जानकारी दिँदै सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, मकवानपुर शाखा अध्यक्ष हरि हुमागाइँलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रेडियोको उत्कृष्ट कर्मचारीको रुपमा बजार व्यवस्थापन शाखामा कार्यरत् कुमारमणी हुमागाईँलाई नगद ५ हजार ९९९ सहित सम्मान गरिएको थियो । यस्तै रेडियो मकवानपुरका पूर्व स्टेशन म्यानेजर राममणी दाहाललाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो भने प्राविधिक ललिता अधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती थियो ।

अधिकारी र रेग्मीलाई रेडियो मकवानपुरको सामुदायिक सम्मान :

मानवसेवा आश्रमका प्रमुख अभियन्ता रामजी अधिकारी र हेटौंडा–१६ त्रिशुले हटियाका कृषक गीता रेग्मीलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान–२०७५ प्रदान गरेको छ । रेडियोको नवौं बार्षिकोत्सव र रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २० औं स्थापना दिवसको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा अधिकारी र रेग्मीलाई नगद ९ हजार ९९९ सहित सम्मान गरेको हो । अदिया खेति गरेरै परिवार धान्दै तथा खेत समेत जोड्न सफल रेग्मी र आगामी २०८२ सालभित्र नेपाललाई नै सहयोगाापेक्षी सडक मानवमुक्त बनाउने अभियान स्वरुप सडकमा रहेका मानवहरुको उद्दार, पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमका प्रमुख अधिकारीलाई रेडियोले सम्मान गरेको हो ।

बार्षिकोत्सवको सन्दर्भमा रेडियोले दुईजनालाई सामुदायिक सम्मान र तीजको सन्दर्भमा दुईजना महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ, दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीना र रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले सम्मानपत्र, दोसल्ला, नगद र माला प्रदान गरेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।