file photo

हेटौँडा,२८ माघ ।प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नंबर ३ मा भ्रष्टाचारीलाई कुनैपनि स्थान नभएको बताएका छन् । सरकारले भ्रष्टाचार न्युनिकरण तथा शुसासनको पक्षमा काम गरिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि कडा कदम चालिने उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार हरको बताए ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन नियमको परिधिभित्र रहेर काम आग्रह गरे । उनल भने ः हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमा पारी गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताईन्।

कार्यक्रममा कवि निमेष निखिल, भ्रष्टाचार नियन्त्रण अभियन्ता भीम श्रेष्ठ र पत्रकार महासङ्घ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले तल्लो तहदेखि नै सफाइ अभियान चलाउनुपर्ने खाँचो रहेको बताए ।

बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रण अभियानमा लागेका अभियन्ता तथा पत्रकार महासङ्घका जिल्ला अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।