file photo

 रेलबाट विभिन्न सामान चोरी भएका घटना नौला होइनन् तर रेलको डिब्बा नै गायव भएको अनौठो घटना प्रकाशमा आएको छ ।भारतको विशाखापट्टनमबाट नेपालको पर्सास्थित सुक्खा बन्दरगाह आउँदै गरेको रेलको दुईवटा डिब्बा बाटोमै गायव भएको हो । उक्त रेलमा कृषि सामग्री कम्पनी लिमिटेडले मगाएको रासायनिक मल ल्याइँदै थियो ।

हराएका दुई डिब्बाको खोजी गर्न थालिएको ६ महिना बितिसक्दा पनि अझै पत्ता लाग्न नसकेको भारतीय रेलवे अधिकारीहरुको भनाइ छ ।भारतीय अखबार दैनिक जागरणमा प्रकाशित समाचारअनुसार विशाखापट्टनमबाट पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह जाँदै गरेको मालवाहक रेलका ४२ डिब्बामा सामान लोड गरिएको थियो । किसान ट्रेडर्स, मोतिहारीले उक्त सामान ढुवानीको जिम्मा लिएको थियो । सोही अनुसार उक्त कम्पनीले रेलको ४२ डिब्बा ‘बुक’ गरी सामान लोड गराएको थियो ।

६ सेप्टेम्बर, २०१८ मा विशाखापट्टनमबाट नेपालतर्फ प्रस्थान गरेको रेल ११ सेप्टेम्बर, २०१८ मा पर्सास्थित सुक्खा बन्दरगाह आइपुग्दा ४० डिब्बामात्र साथमा ल्याएको किसान ट्रेडर्सका प्रोपाइटर शिवपूजन गुप्ताको भनाइ छ । उनले भारतीय रेलवे अधिकारीलाई यसबारे उजुरी गर्दासमेत हालसम्म दुईवटा डिब्बाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ ।हराएका दुई डिब्बामध्ये एउटामा ११७० बोरा र अर्कोमा १२३० बोरा रासायनिक मल रहेको उनले बताए । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।