हेटौँडा २८ माघ,बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएका मकवानपुर मनहरी गाउँपालिका वडा नं. ४ टुवाङ्ग्रास्थित बनकरियाको एउटा घरलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ ।मनहरी गाउँपालिकाले होमस्टे निर्माणको लागि आवश्यक तयारी थालेको हो । जनताको घरमा प्रधानमन्त्री कार्यक्रम अन्तर्गत तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सानो सोमलाल बनकरियाको घरमा एक रात बसेका थिए ।सोही घरलाई होम स्टे बनाउने गरी काम सुरु गरिएको अध्यक्ष एकराज उप्रेतीले बताए । उनका अनुसार, चालु आर्थिक बर्षमा बनकरिया बस्तीमा होम स्टे लगायतको काम गर्ने गरी ५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

सोही रकमबाट सो घरलाई होम स्टेमा रुपान्तरण गरी पर्यटक प्रवद्र्धनमा सहयोग पुर्याउने योजना गाउँपालिकाको छ ।होम स्टे निर्माणका लागि माया बनकरिया संयोजक रहने गरी होम स्टे व्यवस्थापन समिति गठन गरिएको छ । उपसंयोजक सन्तमाया बनकरिया रहेको सो समितिमा सदस्यहरु सुन्तली, कान्छिमाया, सानो सोमलाल र धोबे बनकरिया तथा ४ नम्बर वडा अध्यक्ष ध्रुब खड्का संरक्षक रहेका छन् ।

आइतबार होम स्टे निर्माण सम्बन्धमा सरोकारवालासँग छलफल कार्यक्रम समेत आयोजना गरिएको छ । छलफलमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वडा अध्यक्ष ध्रुब खड्का, समाजसेवी रामहरि बिष्टलगायतका व्यक्तिहरु उपस्थित थिए ।निर्माण गरिएको समितिले तत्काल चित्लाङ होम स्टेको भ्रमण गराइने योजना समेत बनाइएको छ ।भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल माघ २६ गते तत्कालिन हाँडीखोला गाविसको वडा नं. ७ ट्वाङ्ग्रामा उनको घरमा बसेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।