हेटौंडा,२७ माघ । मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा भएको जिल्लास्तरीय शिक्षक भलिवलको उपाधि जनकमावि भिरकोटले जितेको छ ।

आइतबार हुप्रचौरमा भएको फाइनल खेलमा बकैया गाउँपालिकाको जनक मावि भिरकोटले छिमेकी विद्यालय महेन्द्र माविलाई पराजित गर्दै उपाधि उचालेको हो । जनकले महेन्द्रलाई २५–१३, २०–२५, २५–१९ र २५–२३ को सेटले निरीह बनाएको हो । उपाधि जितेको जनकले २५ हजार र उपविजेतामा सीमित रहेको महेन्द्रले १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो ।

जनकले सेमिफाइनलमा थाहा नगरपालिकाको नाट्यश्वर माविलाई र महेन्द्रले मकवानपुरगढीको भानु माविलाई हराएर उपाधि होडमा उभिएका थिए । यसैगरी प्रतियोगिताको तेस्रो स्थान भानु माविले लिएको छ ।

तेस्रो स्थानको लागि भएको खेलमा भानुले नाट्यश्वरलाई २५–६ र २५–१२ को सोझो सेटमा हरायो । भानुले तेस्रो हुँदै ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा जिल्ला भरीका २४ विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी जनक माविका प्रदीप लामा घोषित हुँदै ३ हजार नगदसहित शिल्ड हात पारे ।

त्यस्तै महेन्द्र माविका प्रकाश थापा मगर उत्कृष्ट स्पाइकर र सोही विद्यालयकै नारायण तिमल्सिना उत्कृष्ट सेटर चुनिँदै समान नगद २–२ हजारसहित शिल्ड प्राप्त गरे ।

 

प्रतियोगिताको अनुशासित टिम थाहा नगरको नाट्यश्वर मावि भएको छ ।

मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको सभाध्यक्षता तथा पूर्व राष्ट्रियसभा सदस्य ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा तत्कालिन नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष रामेश्वर राना, बकैया गाउँपालिका उपाध्यक्ष शरला बोलखे, जिल्ला खेलकुद विकास समिति, मकवानपुर अध्यक्ष माधव तिमल्सिना, मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय सदस्य नवीन सिग्देललगायतले विजेता टिम र खेलाडीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

 

 

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।