काठमाडौँ, २७ माघ । संसदको अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । एक महिनाभित्र उक्त रकम उठान गरिसक्ने निर्देशन दिएको हो ।

आइतबार बसेको समितिको बैठकले एनसेलसँगको बक्यौता तत्काल उठाउन निर्देशन दिएको हो । एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो ।

त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम भने जम्मा ४ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्न पर्ने जानकारी गराएका थिए ।

समितिले आजसम्म सरकारले एनसेलसम्बन्धी गरेको सबै निर्णय समितिमा पठाउन मागसमेत गरेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।