हेटौँडा,२८ पुस ।
मकवानपुरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद विरोध खतिवडाले नेपाली कांग्रेसले अझैपनि आफ्नो लज्जास्पद हार स्विकार गर्न नसकेको बताएका छन् । आज हेटौँडामा भएको नारायणी यातायात ब्यवसायी संघ तथा नारायणी संघ प्रालि हेटौँडाको वार्षिक साधारणसभामा बोल्दै सांसद खतिवडाले नेपाली कांग्रेसले अझैपनि आफु ठुलो भएको दाबी गर्न नछोडेको बताए ।

उनले भने “नेपाली कांग्रेस अझैपनि दुई वाम एक नभएको भए आफुहरुनै ठुलो हुने कुरा भन्दै हिडने गरेको छ, कुस्तीमा मज्जाले पच्छारिएर तल परेपछि पनि खुट्टा छिराएर ल हेर मेरो खुट्टा माथि छ भनेजस्तो ब्यवहार कांग्रेसले अझै गर्न छाडेन ।”
नेपाली कांग्रेसले सोचेजस्तो सरकारले केहि नगरेको भन्ने कुरा गलत भएको भन्दै उनले भने “सरकारले के गर्यो के गरेन भन्ने विषय अब चार वर्षपछि आउने निर्वाचनले बताउला तर हामी हाम्रो घोषणापत्र अनुुसारको काम गर्न प्रतिवद्ध छौ, कम्युनिष्टको सरकारले जनअपेक्षा अनुसारको काम गर्छ । ” यातायात ब्यवसायको सिण्डीकेटको प्रसंगमा बोल्दै उनले केहि यातायात ब्यवसायीको कारण सरकारले यो कदम चाल्न वाध्य भएको समेत भनाई ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बाँनीयाले सरकारले काम गरेर खानेहरुलाई समस्यामा पारेको बताए । अहिले नेपालमा कम्युनिष्टहरु राजा हटाएर महाराजा बन्ने अभियानमा लागेको समेत उनले आरोप लगाए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नारायणी यातायात ब्यवसायी संघले धेरै सामजिक उत्तरदायित्व समेत बहन गरेको बताएका छन् । राज्यले राम्रो होमवर्क नगरि नीती अगाडी सार्दा नारायणीलाई समेत समस्या भएको उनको भनाई रहेको छ । यातायात ब्यवसायी र सरकारबीच घनिभुत छलफल गरेर समस्यालाई समधान गर्नुपर्ने उनले बताए । नारायणी यातायात ब्यवसायीले यस अघि समेत उदाहरणीय काम गरेको भन्दै भोलीका दिनमा समेत यस्ता क्रियाकलाप गर्दै अगाडी बढन आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सांसदहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष प्रताप विष्ट, मकवानपुर उद्योग वाणिज्य संका अध्यक्ष कृष्ण कटुवाल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।