हेटौँडा,२७ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपकबहादुर सिंह मकवानपुरको चर्चित नेता हुन् । उनको हरेक “स्टाईल”ले मकवानपुरमा चर्चा पाउने गर्छ । अझ भन्ने हो भने मकवानपुरमा कमल थापा जत्तिकै चर्चामा रहेका उनी राप्रपाको नेता हुन् ।
राप्रपा बृत्तमा “दिपक राजा, राजा साप”लगाएतको उपनामले चिनिएका उनी गत वर्ष सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशभसा निर्वाचनपछि एकाएक जिल्लाको राजनीतिबाट गायब भए ।

निर्वाचनमा देशभरमानै लज्जास्पद पराजय भोगेपछि राप्रपाको केन्द्रीय कमिटिले मकवानपुरको हेटौँडामा बाक्लो कार्यक्रमहरु राख्यो । यहाँ राष्ट्रिय स्तरबाट प्रदेश स्तरका धेरै कार्यक्रमहरु भए । तर त्यहा दीपक सिंह देखिएनन् । प्रदेश भेलामा समेत देखा नपरेका सिंहले राप्रपा छाडेको हो कि भन्ने प्रश्नसमेत उब्जीयो ।

दिपक सिंहलाई चुनावको समयमा मात्र देखा पर्ने नेताको रुपमा चित्रण समेत गर्ने गरिन्थ्यो र उनी चुनावपछि हराउने गर्छन भन्नेहरुको जमातलाई सहि सावित गर्दै सिंह पार्टीको कुनैपनि क्रियाकलापमा देखा परेनन् ।
कमल थापाको निकट रहेका सिंह र थापा विच मनमुटाव भएको भन्ने हल्ला पनि नचलको हैन् । तर राप्रपा मकवानपुरले आज हेटौँडाका गरेको राष्ट्रिय एकता दिवसको कार्यक्रममा सिंहको “इन्ट्री” भयो ।

राप्रपा अहिले देशभर आफ्नो संगठन गठन तथा पुर्नगठन गर्ने अभियानमा रहेको छ । माघ महिनाभरमा राप्रपाले मकवानपुरको सबै स्थानीय तह तथा क्षेत्र र जिल्लाको अधिवेशन समेत गर्ने कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको लागि राप्रपाले अहिले विभिन्न समितिहरु समेत बनाएको छ । यसै समयमा सिंहको “इन्ट्री” हुनुले उनी राप्रपा मकवानपुरको नयाँ नेतृत्वको लागि क्रियाशिल हुन लागेको होकी भन्ने प्रश्न समेत जन्माएको छ ।

दिपक सिंहको “इन्ट्री”को विषयमा राप्रपा मकवानपुरका एक नेता भन्छन् : सिंहलाई पटक—पटक जिल्ला नेतृत्व दिने विषयमा छलफल भएका छन् , यसअघि गणेश थापालाई संयोजक बनाउने समयमा पनि सिंहको चर्चा थियो तर उनी भएनन् । त्यसपछि निर्वाचन भयो, पार्टिले लज्जास्पद हार बेहोर्नु पर्यो । थापाकै गृह जिल्ला भएको कारण पनि राप्रपाले मकवानपुरलाई थप महत्वको साथ हेर्ने भएकोले सायद सिंहनै नयाँ अध्यक्ष बन्न सक्छन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।