file photo

पुस २५ । संयुक्त अरब इमिरेट्स (युएई)सँग एकदिवसीय र टी–ट्वेन्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु भएको छ ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् ।बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् ।

त्यसैगरी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन् ।

बुधबार पहिलो दिनको बन्द प्रशिक्षणमा भने १६ खेलाडीलेमात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले राससलाई जानकारी दिए ।

उनले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताए ।

कप्तान पारस खड्का र दीपेन्द्रसिंह ऐरी भने अष्ट्रेलियामा छन् ।केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ ।

युएईमा नै हुने उक्त प्रतियोगिता आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ ।युएईसँगको पहिलो एकदिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ ।

यस्तै, टी–२० तर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ ।नेपालले गत वर्ष जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । रासस

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।