आफू आमाबाबु भएको र आफूसँग स्वस्थ शिशु खेलेको हेर्ने रहर हरेक विवाहित जोडीको हुन्छ । तर, गर्भ तुहिने अथवा खेर जाने समस्याले धेरैको यो सपना तुहाउन सक्छ । अहिले नेपालमा १५ देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने गरेको विभिन्न अध्ययनले देखाएका छन् । व्यक्तिको लापरवाही, विभिन्न रोग, शारीरिक अवस्था आदिका कारण गर्भ खेर जान सक्छ ।

सामान्यतया गर्भ रहेको २०औं हप्ताभन्दा अगाडि मिसक्यारेज अथवा गर्भ खेर जान सक्छ । पहिलो तीन महिनामा विभिन्न कारणले हरेक महिलाको गर्भ जाने सम्भावना रहन्छ । गर्भधारणको पहिलो चरण अर्थात् पहिलो २० दिनमा महिलाहरुलाई आफू गर्भवती भएको थाहा नै हुँदैन । यस समयमा महिलाहरु सजग नहुँदा गर्भ जाने सम्भावना बढी रहन्छ । त्यसैले गर्भ रहेनरहेको बारे महिलाहरु सजग हुनु जरुरी छ ।

गर्भ खेर जानुका मुख्य कारण

पहिलो तीन महिनामा भ्रूणको अवस्था कमजोर र असामान्य भएमा गर्भ खेर जान सक्छ । तर दोस्रो तीन महिनामा भने गर्भवती महिलाको आहारविहार र पालनपोषण राम्रो नभएमा नै गर्भ खेर जाने गर्छ । जिनसम्बन्धी समस्या, सालनालको अवस्था, योनिमा लगातार संक्रमण हुनु, गलत औषधि खानु आदि गर्भ जानुका कारण हुन् ।

प्रथम त्रैमासमा ९० प्रतिशत गर्भ खेर जानुको कारण जिनसम्बन्धी समस्या हो । धेरै भागदौड गर्नु, खानपिनमा ध्यान नदिनु, शरीर र गर्भलाई दबाब पर्ने काम गर्नु, एक बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहनु आदि गर्भ खेर जानुका कारण हुन् ।

२० वर्षका महिलाको तुलनामा ४० वर्ष उमेरमा महिलाको गर्भ खेर जाने सम्भावना २० गुणा बढी हुन्छ । अर्थात् उमेर ढल्किँदै गएपछि महिलाको प्रजनन क्षमतामा ह्रास आउँछ र गर्भ खेर जान सक्छ । त्यस्तै, पहिला एक पटक गर्भ खेर गइसकेको छ भने महिलाले सही उपचार नपाएको खण्डमा पुनः गर्भ खेर जाने सम्भावना त्यतिकै रहन्छ । मधुमेह, हर्निया, उच्च रक्तचाप, थाइरोइड आदि रोगका कारण पनि गर्भ खेर जान सक्छ ।

रगत अथवा पेट र पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको पनि गर्भ खेर जाने सम्भावना रहन्छ । त्यस्तै, तनाव बढी लिएमा र शरीरको हार्मोनमा अचानक कमी अथवा विकार आएमा गर्भ खेर जान सक्छ । मद्यपान, धूमपान र क्याफिनको बढी सेवनले पनि गर्भ खेर जाने जोखिम बढाउँछ । त्यस्तै, वंशाणुगत समस्याका कारण पनि गर्भ खेर जान सक्छ ।

पाठेघर सानो भएमा, पाठेघरको मुख खुकुलो भएमा र पाठेघरमा संक्रमण भएमा पनि गर्भ खेर जान्छ । कसैकसैलाई पतिको वीर्य नफाप्ने अथवा रज र वीर्यको प्रकृति नमिल्नाले पनि गर्भ खेर जान सक्छ । हाडनातामा गरिएको विवाह गर्भ खेर जानुको कारण हुन सक्छ । गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुँगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नु आदि पनि गर्भ जानुका कारण हुन् । तनावयुक्त जीवनशैली र विषादियुक्त खानाले पनि गर्भ खेर जान सक्छ । त्यस्तै, निरन्तर उभिरहनुपर्ने काम गर्ने महिलाको पनि गर्भ खेर जान सक्छ । शरीर निष्क्रिय भएमा पनि गर्भ खेर जाने सम्भावना रहन्छ ।

गर्भ खेर जानुका लक्षण

गर्भ खेर जानुका धेरै लक्षण छन् । यस्ता लक्षण हरेक महिलामा देखिनै पर्छ भन्ने चाहिँ कुनै जरुरी छैन ।

गर्भ खेर जाँदा भेजाइनल डिस्चार्ज अर्थात् योनिबाट गाढा रातो रङको रगत आउन थाल्छ । यो धेरै दिनसम्म आइरहन सक्छ । तर कतिपय अवस्थामा गर्भ रहे पनि हल्का रक्तस्राव हुनु सामान्य नै मानिन्छ । तथापि, सुरक्षित गर्भावस्थाका लागि यस्ता लक्षण देखिएमा डाक्टरलाई सम्पर्क गर्नु नै उपयुक्त हुन्छ ।

गर्भ रहिसकेपछि महिलालाई मासिक धर्मको अवस्थामा भन्दा पनि बढी पीडा भएमा गर्भ खेर गएको हुन सक्छ । गर्भावस्थाको समयमा पेटको तल्लो भागमा बढी पीडा भएमा यसले भ्रूण निष्कासित हुने सम्भावना रहेको संकेत गर्छ । कहिलेकाहिँ ऐंठन अथवा पीडाका कारण सास फेर्न पनि गाह्रो हुन्छ । यो पनि गर्भ खेर जानुको लक्षण हो ।

गर्भ रहेको सुरुवाती अवस्था हल्का पीडा भएजस्तो महसूस त हुन्छ । तर, सहनै नसक्ने गरी पीडा भयो भने गर्भ खेर गएको हुन सक्छ । गर्भ खेर जाँदा पीडा प्रसव अवस्थाको जस्तै पाँचदेखि बीस मिनेटसम्म हुन सक्छ । यस्तो पीडा भएमा यसलाई बेवास्ता नगरी डाक्टरको परामर्श लिनु अत्यन्त जरुरी छ ।

यदि गर्भ रहेको अवस्थामा अचानक गर्भवती महिलाको तौल घट्न लाग्यो भने सचेत हुनु आवश्यक छ । यो गर्भ खेर गएको लक्षण हुन सक्छ । बच्चा नचलेको शंका लागेमा गर्भ खेर गएको हुन सक्छ । प्रायः महिलाहरु यस्तो कुरालाई हल्का रुपमा लिन्छन्, तर यसले पछि गम्भीर समस्या निम्त्याउन सक्छ ।

गर्भ खेर गएमा के गर्ने ?

यदि गर्भ खेर गएको लक्षण पहिलो अथवा दोस्रो त्रैमासमा देखिएमा डाक्टरले बेड रेस्टको सल्लाह दिन सक्छन् । गर्भ खेर गएको छ भने शरीर पूर्ण स्वस्थ नभएसम्म कडा व्यायाम र सम्भोगबाट बच्नुपर्ने पनि हुन सक्छ ।

यो गर्भ खेर जान रोक्ने उपाय नभए पनि पुनः गर्भ रहेको अवस्थामा खेर जाने खतरालाई भने यसले टार्न सक्छ ।

यदि गर्भ खेर जाने क्रिया अधुरो छ भने स्त्रीरोग विशेषज्ञले डिल्टेसन र कुरेटेग नामक शल्यक्रिया गरी भू्रणको बचेको भाग गर्भाशयबाट हटाउँछन् । यदि गर्भ रहेको दोस्रो तीन महिनामा गर्भ खेर गएको छ भने डाक्टरले अस्पतालमा भर्ना गरेर नै भ्रूण र सालनालको बाँकी अंश निकाल्छन् ।

यदि गर्भाशयको आकारका कारण गर्भ खेर गएमा शल्यक्रियाको आवश्यकता पर्न सक्छ । समयमा नै यसको उपचार भएमा महिलाहरु पुनः गर्भवती हुन सक्छन्, अन्यथा कहिल्यै गर्भ नरहन पनि सक्छ । भ्रूण खेर गएमा करीब एक वर्षसम्म अर्को गर्भधारण गर्नुहुँदैन । यसले पुनः गर्भ खेर जाने सम्भावना रहन्छ ।

यदि गर्भ खेर गई भ्रूण बाहिर निस्किसकेको छ भने यसको परीक्षणका लागि प्लास्टिकको बट्टामा राखेर डाक्टरलाई दिन सकिन्छ । डाक्टरले माइक्रोस्कोपको प्रयोग गरी गर्भ खेर जानुको कारण पत्ता लगाउन सक्छन् ।

गर्भ खेर जाने समस्याबाट बच्ने तरिका

यदि गर्भ खेर जाने शंका भएमा पाठेघरको मुख खुला छ कि बन्द छ भन्ने पत्ता लगाउन सकिन्छ । डाक्टरले गर्भाशयको परीक्षण र आकारको मापन गर्छन् । गर्भ खेर जाने सम्भावना रहेमा पाठेघरको मुख सामान्यतया खुला रहन्छ र भ्रूण धेरै समय जीवित रहन सक्दैन । यदि पहिले नै गर्भ खेर गइसकेको छ भने पाठेघरको मुख खुला अथवा बन्द हुन सक्छ ।

गर्भाशयबाट सम्पूर्ण भ्रूण र सालनाल निस्किसकेको छ कि छैन भन्ने कुरामा यो निर्भर रहन्छ । रगतको परीक्षण गरी भ्रूण अथवा सालनाल गर्भमा रहेनरहेको बारे थाहा पाउन सकिन्छ । यदि महिलामा हार्मोनको कमी छ भने गर्भ खेर जान सक्छ । अल्ट्रा साउन्ड परीक्षण गरी हरेक अवस्थामा भ्रूण छ÷छैन भनी परीक्षण गर्न सकिन्छ । यसबाट भ्रूणको मुटुमा ढुकढुकी छ कि अथवा भ्रूणको मृत्यु भइसकेको छ भन्ने थाहा हुन्छ ।

गर्भ खेर जानबाट बच्न कठिन काम नगर्ने, शरीरलाई आराम दिने, लामो यात्रा नगर्ने, शरीरलाई सजिलो हुने जुत्ता–चप्पल र कपडा लगाउन आवश्यक छ । यसले शरीरलाई दबाब पर्दैन र गर्भ सुरक्षित रहन सक्छ ।

गर्भ रहेको अवस्थामा आहारविहारमा विशेष ध्यान दिनुपर्छ । प्रदूषणयुक्त स्थानमा नबस्ने, घरवरिपरि स्वच्छ राख्ने, जङ्कफुड र होटल रेस्टुरेन्टका खानाभन्दा घरमा बनाइएको स्वस्थकर खानामा बढी जोड दिनुपर्छ । गर्भ रहेको अवस्थामा शरीरमा आइरनको कमी हुने भएकाले आइरन चक्की, फोलिक एसिड र बी कम्प्लेक्सको सेवन गर्नु आवश्यक छ । त्यस्तै, फलफूल, हरियो सागसब्जी, गेडागुडी, माछामासु, दूध आदि नियमित खाने गरेमा गर्भ स्वस्थ रहन्छ र स्वस्थ शिशुको जन्म हुन्छ ।

२० देखि ३० वर्षको उमेरमा गर्भ धारण गर्नु उपयुक्त मानिन्छ । त्योभन्दा अगाडि अथवा पछाडि गर्भ धारण भएमा गर्भ खेर जाने सम्भावना रहन्छ ।
गर्भ रहिसकेपछि २८ हप्तासम्म प्रत्येक महिना, २८ हप्तापछि दुईदुई हप्ता र ३६ हप्तापछि हरेक हप्ता गर्भको परीक्षण गर्नु आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । त्यस्तै, गर्भ खेर जाने आशंका भएमा अन्य समयमा पनि परीक्षण गर्न आवश्यक छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।