हेटौँडा,बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रिय टिमको समेत सहभागिता हुने भएको छ । शुक्रबार पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी समेत बृद्धी गरिएको जानकारी दिईएको छ ।

खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख र दोस्रो हुने टिमलाई दुई लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताए । माघ १ गतेदेखि ८ गतेसम्म बागमतीको जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा २५ लाख रुपैंया खर्च हुने उनले बताए ।ए डिभिजनसहित प्रदेश १, २, ३ र ४ को जिल्लाका १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब ७ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट किपर, डिफेण्डर, मिड फिल्डर लगायतलाई नगद दश हजारसहित मेडल र प्रमाणपत्र दिईने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले खेल मार्फत् मनोरञ्जनसँगै स्थानीय खेलाडी उत्पादनमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताए । प्रतियोगिता मार्फत् बागमती गाउँपालिकाकै प्रचारप्रसार हुने भन्दै उनले खेल व्यवस्थापनमा गाउँपालिकाले बिशेष सहयोग गर्ने बताए ।कार्यक्रममा बागमती गाउँपालिकाका नेकपाका नेता राजकुमार तिमल्सिना, बागमती ६ नम्बर वडा अध्यक्ष ध्रुब थापा, ४ नम्बर वडा अध्यक्ष रहरमान थिङ्ग, नेपाली कांग्रेस बागमतीका सहसचिव टेकबहादुर डिम्डुङ्ग, जनता माबिका अध्यक्ष डम्बरबहादुर बिक, प्राचार्य बसन्त राई, ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी नायब निरिक्षक राजेश यादव लगायतको आतिथ्य रहेको थियो ।११ टिम सहभागी भएको गतबर्ष आयोजित प्रथम बागमती गोल्डकप फुटबल प्रतियोगितामा सिन्धुलीको हरिहरपुर गढी खेलकुद विकास समिति प्रथम र राईगाऊ युवा क्लब दोस्रा भएको थियो ।

प्रथम टिमले नगद एक लाख र दोस्रा टिमले ५० हजार पुरस्कार राखिएको भएपनि यसबर्षदेखि राष्ट्रिय टिमलाई समेत सहभागी गराईने भएकाले पुरस्कार बृद्धी गरिएको आयोजकले जनाएको छ । कार्यक्रममै फुटबलका पूर्व राष्ट्रिय प्रशिक्षक मेघराज केशीलाई सम्मान समेत गरिने भएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।