हेटौँडा,२० मंसिर ।
मकवानपुरको हेटौँडामा मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघले फागुनको अन्तिम हप्ताबाट प्रतियोगिताको सुरुवात गर्ने भएको हो ।

आज हेटौँडामा आयोजना भएको जिल्ला फुटबल संघका सल्लाहाकार सम्मान कार्यक्रममा मकवानपुर गोल्डकपको विषयमा जानकारी दिइएको हो । गोल्डकपको विषयमा कार्यपत्र प्रस्तुत गर्दै एनफाका मार्केटिङ एण्ड एजुकेशन समिति सदस्य दिपेन्द्र ढकालले प्रतियोगिता फागुनको अन्तिममा हुने बताए ।

प्रतियोगिताको विजेताले नगद १० लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले नगद ५ लाख सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ७५ हजार, विधागत उत्कृष्ट खेलाडीहरुले नगद २० हजार, म्यान अफ द म्याच ले नगद १० हजार प्राप्त गर्ने समेत जनाईएको छ ।

मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु पुरनबहादुर जोशी, आनन्दराम पराजुली, नविन सिग्देल, राजेश बानीया, दिपक खड्का, डाक्टर बसन्तमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनफाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको विकासको लागि एनफा एकचित्त भएर लागेको बताए । एनफाले ग्रासरुटबाटनै फुटबलको विकास तथा प्रर्वद्धनमा काम गरिरहेको समेत उनको भनाई रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।