एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सामाजिक सञ्जालमा लागिरहँदा राजनीतिक बृत्तमा पनि यसबारे बहस सुरु भएको छ ।सामाजिक सञ्जालमामै राजनीतिक बृत्त पनि बहसमा उत्रिएको हो । यसक्रममा पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा र पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आमने–सामने भएका छन् ।

‘राप्रपाले हिन्दु राष्ट्रका लागि देशब्यापी आन्दोलन थाल्ने’ शीर्षकको एक समाचारमाथि पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रतिक्रिया जनाउँदै ‘जनताको धार्मिक भावना भड्काएर सत्ता स्वार्थको रोटी सेक्ने कुचेष्टा कसैले नगरुन्’ भनेका थिए । उनले बुधबार ट्वीट गर्दै अगाडि भनेका छन्, ‘म यतिबेला किराँत, हिन्दु र बौद्ध तीनवटै धर्मको साझा तीर्थस्थल हलेसीमा छु । नेपालको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको उच्च नमूना हो यो ।’

 

उनले धर्मको समवेदनशील विषयमा राजनीति गर्नेहरुको नियति भष्मासुरजस्तो नहोस् भन्ने कामना पनि गरेका छन् ।डा. भट्टराईको सो ट्वीटमा राप्रपा अध्यक्ष कमल थापाले कडा प्रहार गरेका हुन् ।

थापाले लेखेका छन्, ‘जनभावना विपरीत विदेशीको दबाब र प्रभावमा धर्मनिरपेक्षता लाद्नेहरुले धार्मिक द्वन्द्वको बिजारोपण गरेका हुन् । हामी त्यो गल्ती सच्याउने अभियानमा छौं ।’

उनले हिन्दु, बौद्ध र किराँत धर्मको साझा आस्था ‘हलेसी’ संस्कृतिको संरक्षण नै आफूहरुको लक्ष्य रहेको पनि उल्लेख गरेका छन् । ‘सनातन धर्म नष्ट गर्ने षडयन्त्रकारीहरु आफैं नष्ट हुन्छन्,’ ट्वीटमा उनले भनेका छन् ।

 

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।