फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेको आरोप लगाएका छन् । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बीचको बुझाइमा एकरुपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको अध्यक्ष प्रचण्डले बताए ।

प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन भएपछि पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसाथ गर्ने कर्मचारी ल्याइन्छ, तर नेपालमा त्यस्तो छैन, बरु नेपालमा त ब्यूरोक्रेसीले राजनीतिक नेतृत्वलाई बिस्तारै आफूजस्तै बनाउँछ र नयाँ प्रणाली असफल बनाउँछ ।’
कर्मचारीकै कारण वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको पनि उनले तर्क गरे । अब संघ सरकारदेखि सबै सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल चलिरहेको र चाँडै त्यसको रिजल्ट आउने उनले बताए ।

साथै प्रदेश सरकार असफल भए देश अँध्यारोमा फस्ने प्रचण्डको चेतावनी छ । उनले प्रदेश सरकार प्रभावकारी नहुँदा सबै परिवर्तन असफल हुने र देश अँध्यारोमा फस्ने बताए । संघीयतालाई जसरी पनि असफल हुन नदिई प्रभावकारी बनाउने गरि काम गर्नुपर्ने उनको भनाई छ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधानले प्रदेशलाई प्रभावकारी रुपमा रहने भनेर स्पष्ट भनेको भन्दै त्यसमा आशंका नगर्न आग्रह गरे ।

प्रचण्डले ओली सरकार अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको पनि दाबी गरे । असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएकाले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने उनले तर्क गरे ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।