बर्खास्तीमा परेका प्रदेश ३ का पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ रहेको गम्भीर आरोप लगाएका छन् । उनले मंगलबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा यस्तो आरोप लगाएका हुन् । तिहारपछि पौडेलविरुद्ध आन्दोलन गर्ने उनको चेतावनी थियो ।

“डोरमणि पौडेलले प्रदेशको अवधारणपत्र एसिया फाउन्डेसनको लगानीमा बनायो । एसिया फाउन्डेसन सीआईएको संस्था हो । डोरमणिको सीआईएसँग साँठगाँठ गरेको देखियो । परराष्ट्र र अर्थको स्वीकृतिबिना अवधारणा कसरी बनाउने भनेर सहयोग लिएका छन् । त्यस्तो व्यक्ति कसरी नेकपाको नेता हुन सक्छ ?”

स्थापितले पौडेलको भैंसेपाटीमा रहेको कार्यालयको पनि डेकोरेसन त्यसैले गरेको आरोप लगाए । “डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हुँ । राजा ज्ञानेन्द्रसँग डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने ?,” उनको प्रश्न थियो ।

उनले पौडेललाई मुख्यमन्त्री बनाउँदा पार्टीभित्र ३४ र २४ को समूह भएको भए पनि अब त्यो समीकरण भत्किएको घोषणा गरे ।

“अहिले चाँही तिहार मनाउन दिउँ भनेर बुढा मान्छेको उमेरको ख्याल गरेर हामी लागेका हौं,” उनले भने, “तिहारपछि प्रतिवाद सुरु हुन्छ ।” “उहाँ अष्टलक्ष्मीकहाँ गएर मलाई पूर्वाधारमन्त्री बनाउनु भन्नुहुन्थ्यो । एउटा कुनाको मान्छेलाई ल्याएर मुख्यमन्त्री बनायौं । यो पार्टीभित्रको गुटको कारणले यस्तो भएको हो । तर अहिले उहाँले उपत्यकालाई बेवास्ता गर्नुभएको छ । अब उहाँ टिक्न सक्नुहुन्न । उहाँ अब यो पदमा बस्न योग्य हुनुहुन्न ।”

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।