हेटौँडा,२५ असोज ।
मकवानपुर प्रहरीले जिल्लाका विभिन्न क्षेत्रहरुमा चाडपर्वका बेला हुन सक्ने अपराध न्यूनिकरण गर्नका लागि ६८२ जना प्रहरी परिचालन गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले राजमार्गलाई लक्षित गरी सुरक्षा सतर्कता अपनाउँदै चाडपर्व सुरक्षा योजना सार्बजनिक गरेको हो । जस अनुसार जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोष्ट रहने गरी विभिन्न टोलीहरु निर्माण भएका छन् ।

 

मोटरसाइकल र पिक अप भ्यानको सुविधा समेत रहने गरी जिल्ला प्रहरी कार्यालय मातहतमा १२ वटा क्विक रेस्पोन्स टिम तयार गरिएको छ । विभिन्न इकाइहरुबाट पनि थप मोटरसाइकलसहितको प्रहरी टोली परिचालित हुनेछन् ।

त्यसैगरी जिल्लाका १६ वटा स्थानमा २४ सै घण्टा ट्राफिक चेकिङको व्यवस्था मिलाइएको छ । सरकारी कार्यालयहरु, बित्तीय संस्थाहरुलाई निगरानी राखी सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सूचना संकलन तथा अपराधिक योजनालाई पत्ता लगाई निस्तेज गर्न सादा पोशाकका प्रहरी परिचालित गरिएको छ भने लंगुरबुर्जा, जुवा, तास नियन्त्रणका लागि बिशेष टोली खटाइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले बताए । सुरक्षा सतर्कता बढाएसँगै आगलागी जस्ता प्रकोप नियन्त्रणका लागि तत्काल उद्धार र नियन्त्रणका लागि टिम परिचालित भएको प्रवक्ता सिंहले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।