हेटौँडा,२४ असोज ।
नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट सारिए काठमाडौंमा नाकाबन्दी लाग्न सक्ने चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन मकवानपुरको आयोजना बुधबार हेटौंडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त हुनेतर्क गरे ।

प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी रहन सक्ने बताउँदै उनले आफूहरुले राजधानी हेटौंडामा नै राख्नुपर्नेमा जोड दिँदै आइएको बताए । ‘राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रोतर्फबाट हेटौंडामा नै राजधानी राख्ने प्रयास गरिरहेका छौं, नेकपाकै सांसदहरुले हेटौंडामा जोड गरिदिए राजधानी हेटौंडामा रहन सक्छ ।’ हेटौंडाबाट राजधानी सारिए मकवानपुरबासीले आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौंमा मकवानपुरले नाकाबबन्दी लगाउन सक्ने अवस्था आउने उनको भनाइ थियो ।

रणनीतिक रुपमा नै उपयुक्त रहेकाले नै शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थायी राजधानी बनाउने हेतुले अस्थायी राजधानी हेटौँडामा तोकेको उनको भनाई थियो । राजनीतिक आग्रह पूर्वाग्रहमा नलागी एकमत भएर राजधानी अब हेटौंडामा नै कायम गर्न सबै जुट्नुपर्ने बताए । सडक सञ्जाल, सुरक्षा संवेदनशिलता र रणनीतिक दृष्टिकोणलेप्रदेश नम्बर ३ को राजधानी हेटौँडा उपयुक्त रहेको उनको भनाई थियो ।

युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल, पार्टी जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदिप कोइराला, नगर सभापति आनन्दराम पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, प्रेस सेन्टरकी अध्यक्ष नानीमैया विष्टलगायतको आतिथ्यता रहेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।