हेटौँडा,१५ असोज ।

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको कामको मुल्याङ्न गर्ने समय भैनसकेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको १५ औँ वार्षिक साधरणसभाको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री पौडेलले भर्खर मात्र जन्मेर सात महिना पुगेको सरकारको तुलाना बर्षौबाट सरकारको अभ्यास गर्दै आएको केन्द्रीय र स्थानीय सरकारसँग नहुँने स्पष्ठ पारे ।

आज हेटौँडामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सात महिनामात्र भएको सरकारले २५० वर्षे विरासत बोकेको केन्द्रीय सरकार र ७५ वर्षको विरासत बोकेको स्थानीय सरकारसँ तुलना गर्नु अहिलेनै उचित नभएको बताए ।

प्रदेश सरकारले नदेखिने हिसावमा धेरै काम गरेको भन्दै मुख्यमन्त्री पौडेलले भने “एउटा प्लेन कति स्पिडमा उडेको छ भन्ने कुरा यात्रुलाईपनि धेरै अनुभव हुँदैन, आकाशमा विस्तारै उडेकोजस्तो भान हुन्छ तर ल्याण्ड गर्ने समयमा त्यसको स्पिडको बारेमा अनुभव हुन्छ, प्रदेश सरकारले पनि सोहि गतिमा काम गरेको छ, अबको केहि समयमा थाहा हुन्छ ।”

पत्रकारहरुसँग आफुहरु सहकार्य गरेर काम गर्न तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले पत्रकारहरुले पनि सरकारको राम्रो कामको विषयमा उल्लेख गर्नुपर्नेमा जोड दिए । पत्रकारहरुले पनि समृद्धिको अभियानमा जोड दिनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले पत्रकारिताको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले पत्रकारिताको विकासको लागि प्रदेश सरकार गम्भिर रहेको बताए । पत्रकारिताको विकासले लोकतन्त्रको गरिमा थप बढने भन्दै उनले पत्रकारितको क्षेत्रको विकासमा प्रदेश सरकारले चासो दिईरहेको उल्लेख गरे ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाईको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल प्रदेशसभा सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाला, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरि, प्रदेश अध्यक्ष प्रताप विष्ट लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सस्थापक अध्यक्ष स्वर्गीय नुच्छेमान श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट मकवानपुरे पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरिएको थियो ।