हेटौँडा,२३ श्रावण
मकवानपुरको पहिलो डिजिटल फिल्म हलको रुपमा परिचय बनाएको ओम्याक्स सिनेमा हल आज आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ ।
हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागीका कारण पाँच करोड रुपैयाँ बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुधबार बिहान भएको आगलागीबाट भवन भित्र रहेका सबै सामग्रीहरु जलेर नष्ट हुँदा पाँच करोड रुपैयाँ बढिको क्षति भएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।

हलभित्र रहेको पर्दा, प्रोजेक्टर, साउण्ड सिस्टम, सिटसहित अन्य सबै सामग्री जलेर नष्ट भएको उनले जानकारी दिए । केहि दिन अघिमात्र नयाँ डेकोरेसन गरिएको सिनेमा हलको प्रोजेक्टर रुममा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

नयाँ प्रविधि सहित २०६७ सालमा ओम्याक्स सिनेमा हल छ करोडको लागतमा निर्माण भएको हल सञ्चालक नरेन्द्र महर्जनले बताए । ‘आगलागीबाट हल त पूर्ण जलेर नष्ट भयो नै भवन समेत प्रयोग गर्न नमिल्ने भएको छ’, उनले भने ।

चलचित्रकर्मी समेत रहेका महर्जनले हलमा भएको क्षतिको पूर्ण विवरण भोलीसम्म थाहा भैसक्ने बताए । मकवानपुरमा रहेर नेपालमानै चर्चा बटुल्न सफल महर्जनले सञ्चालन गरेको ओम्याक्स जलेपछि चलचित्र पारखीहरु दुखी भएका छन् । हल जलेपछि नेपालका अधिकांश चलचित्रका कलाकारहरु, संघसस्थाले दुख ब्यक्त गर्दै सामजिक सञ्जालमा आफ्ना धारणा समेत ब्यक्त गरेका छन् ।