जर्मन फुटबल खेलाडी मेसुत ओजिलले अब राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन् ।गत मे महिनामा लन्डनमा भएको एक कार्यक्रममा टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोआनसँग देखिएपछि उनको चर्को आलोचना भएको थियो ।

 

यो प्रकरणमा जर्मन फुटबल संघले आफुसँग न्याससंगत व्यवहार गर्न नसकेको भन्दै ओजिलले जर्मनीको जर्सीमा अब मैदानमा नउत्रिने बताएका हुन् ।लन्डनमा भएको कार्यक्रममा ओजिलसँगै अर्का जर्मन खेलाडी ईके गुन्डोगान, टर्कीस फुटबलर सेन्क टोसुन र टर्कीका राष्ट्रपति अर्दोआनको फोटो सार्वजनिक भएको थियो

 

ओजिल र गुन्डोगानले टर्कीस राष्ट्रपतिलाई समर्थन गर्दै जर्मन विदेश नीति तथा प्रजातान्त्रिक मान्यताको खिल्ली उडाएको भन्दै जर्मनीमा चर्को आलोचना गरिएको थियो ।ओजिलले आइतबार एक विज्ञप्ती जारी गर्दै अबदेखि जर्मन राष्ट्रिय टोलीबाट फुटबल नखेल्ने घोषणा गरेका हुन् ।

आफु र आफ्नो परिवारप्रति घृणा फैलाउने र धम्कीपूर्ण ईमेल, फोन र सामाजिक सञ्जालमा नकारात्मण टिप्पणीहरु आईरहेको ओजिलले बताएका छन् ।ओजिल र गुन्डोगान दुबै जना टर्कीस मूलका जर्मन फुटबल खेलाडी हुन् ।

 

आफुहरुले टर्कीस राष्ट्रपतिलाई भेटेर आफ्नो पूर्खा र वंशजको सम्मान गरेको ओजिलको तर्क छ ।भेटमा फुटबलबारे कुरा भएको र राजनीतिक विषयवस्तुले प्रवेश नपाएको उनीहरुको भनाई छ ।