गृह राजनीति सरकार निरंकुशताको बाटोमा लाग्यो : देउवा

सरकार निरंकुशताको बाटोमा लाग्यो : देउवा

सेयर गर्नुहोस्

रामेछाप, २३ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न समेत रोक लगाएर सरकार निरंकुशताको बाटोमा अग्रसर भएको आरोप लगाएका छन् ।

प्रेस युनियन, रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले भने, ‘अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्‍याएको घटनाप्रति हाम्रो आपत्ति छ ।’

 

उनले आफ्नो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन चाहेको बताए । ‘पूर्ववती सरकारका निर्णय उल्ट्याएर सरकार मुठभेड निम्त्याउन खोजिरहेको छ’, उनले भने, ‘यो प्रजातान्त्रिक मान्यतालाई कुल्चिएर चालिएको निरंकुशता उन्मुख कदम हो ।’ सरकारले हरेक क्षेत्रलाई नियन्त्रण र कब्जा गर्न खोजेको भन्दै सरकारका पछिल्ला निर्णयहरु कुनै पनि हालतमा नमान्ने र यसको कडा प्रतिवाद गर्ने बताए ।

 

राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओली भारत र चीनसँग लम्पसार परेको देउवाको आरोप थियो । उनले चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै भएको जिकिर गरे । उनले भने, ‘चीनबाट रेल ल्याउने कुरा प्रधानमन्त्री ओलीले गरिरहनु भएको छ,’ उनले भने, ‘यो केबल सपना मात्रै हो, पूरा हुँदैन ।’