
२१ जेठ,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको पहिलो ऐतिहासिक बैठक पक्का भएको खबर बाहिर आएसँगै उनीहरुबीच कुन–कुन विषयमा छलफल हुनेछ भन्नेमा विश्वभर चर्चा भइरहेको छ ।
पछिल्लो वर्ष एकअर्कालाई ध्वस्त पार्ने धम्की दिँदै आएका यी दुवैबीच वार्ता गर्ने विषय धेरै छन् तर त्यस्ता शीर्षकहरुबारे पनि अहिले उत्तिकै चर्चा भइरहेको छ जस सम्बन्धि बैठकमा कुनै कुरा हुनेछैन ।
अहितकारी सरकारी नियन्त्रण
विश्वबाट अलग्गिएको उत्तर कोरियामा वर्षौँदेखि किम परिवारले शासन गर्दै आएको छ र त्यस देशका सम्पूर्ण जनता पनि आफ्ना शाषकप्रति अत्यन्तै समर्पित रहनुपर्ने हुन्छ । राष्ट्रले सबै नागरिकहरुमाथि अत्यन्तै कडा निगरानी गर्ने गरेको छ । त्यसैगरी अर्थव्यवस्था पनि सरकारले नै नियन्त्रण गर्ने हुँदा खाद्य संकट, इन्धन लगायतका जीवनोपयोगी वस्तुहरुको अभावमा समेत आणविक कार्यक्रममा अधिक रकम खर्चिने गरिएको छ ।
नियन्त्रित संचार माध्यम
उत्तर कोरियाली संचार विश्वमै सबैभन्दा कडा रुपमा नियन्त्रित हुनेमा पर्दछ । उत्तर कोरियाली नागरिकहरुले समाचार, मनोरञ्जन जस्ता सम्पूर्ण सूचना राष्ट्रद्वारा सञ्चालित संचार माध्यममार्फत मात्र प्राप्त गर्ने गरेका छन् जसले देशभित्रको असफल नेतृत्वको समेत खुलेर प्रशंसा गर्ने गरेको छ । यसबाहेक कुनैपनि व्यक्तिले अन्य सूचना, पढेको, सुनेको वा हेरेको पाइएमा जेल चलान गर्ने गरिएको छ । मोबाइल बोक्नु सामान्य मानिएपनि अन्तराष्ट्रिय फोन कल सहज छैन । उत्तर कोरियाको आफ्नै इन्ट्रानेट रहेको छ जसको सुविधा पनि राजधानी प्योङयोङ भित्र एकदमै थोरै मानिसमा सिमित छ । तरपनि त्यहाँ अनलाइन आउनु अस्वभाविक मानिन्छ ।
धार्मिक स्वतन्त्रता
उत्तर कोरियाको कानूनमा धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गरिएको छ र त्यहाँ बौद्ध धर्म, सेमनिस्ट र स्थानीय कोरियाली धर्म छोन्डोइजम मानिन्छ भने राष्ट्रले निर्माण गरेका चर्चहरु पनि छन् । तर यी सबै बाहिरी आकर्षणका लागि मात्र रहेको बताइन्छ । किनकी २०१४ को संयुक्त राष्ट्रको २०१४ को रिपोर्टका अनुसार क्रिस्टियनहरुले राष्ट्रिय चर्च भन्दा बाहिर आफ्नो धर्मको अभ्यास गरेमा कडा कारबाही लागू गरिएको थियो । वास्तवमा त्यहाँका अधिकांश नागरिकलाई आफ्ना शासकको परिवारलाई नै भगवान् सरह दर्जा दिन लगाइन्छ ।
श्रम क्याम्प र जेलका परिस्थिति
अमेरिकी राष्ट्रिय विभागको सर्वेक्षण अनुसार उत्तर कोरियामा ८० हजार देखि १ लाख बीस हजारसम्म श्रम कैदीहरु रहेका छन् । यसरी कैद गरिनेमा दक्षिण कोरियाको डिभिडी हेर्नेदेखि सीमा पार गरि भाग्ने सम्मलाइ राख्ने गरिएको बताइएको हो । राजनीतिक अपराध लगायत राष्ट्र विरुद्ध काम गर्ने जो कोहीलाई पनि उत्खनन् लगायतका अत्यन्तै कठिन शारीरिक कामहरु गर्न लगाइन्छ । एम्नेस्टीले पनि सो जेलको कारबाही असह्य रहेको व्याख्या गरेको छ । त्यहाँ पुरुषहरुलाई कुटपिट गरि यातना दिइन्छ भने अधिकांश महिलाहरु यौनहिंशाको शिकार बन्ने गरेका छन् । अर्कोतर्फ परिवारका एक सदस्य आरोपी साबित भएमा उसको पूरा परिवारले नै सजायँ भोग्नुपर्ने नियम रहेको छ ।
विदेशी कैदी
विदेशी नागरिकहरुलाई पनि उत्तर कोरियाले राजनीतिक कारणले लामो समय कैद गरि कूटनीतिक मोहराका रुपमा प्रयोग गर्दै आएको छ । यसअघि तीन अमेरिकी नागरिकहरुलाई कैदमुक्त गरि उत्तर कोरियाले अमेरिकातर्फ सकारात्मक हात अघि बढाएको थियो । तरपनि १७ महिना कैद अमेरिकी विद्यार्थी ओट्टो वार्मबियरको मृत्युका कारण भने अझै उत्तर कोरिया विवादबाट मुक्त हुन सकेको छैन । त्यसैगरी उत्तर कोरियाले १३ जापानी नागरिकहरुको पनि अपहरण गरेको थियो भने चर्चित दक्षिण कोरियाली अभिनेत्री र फिल्म निर्देशकलाई समेत बन्दक बनाएको थियो ।
जबर्जस्तीको मजदुरी
अधिकांश उत्तर कोरियाली नागरिकहरु निःशुल्क मजदुरी गर्न बाध्य हुने गरेको एचआरडब्लुको रिपोर्टले देखाएको छ । त्यसैगरी उत्तर कोरियाले आफ्ना नागरिकलाई कतार, कुवेत,चीन जस्ता राष्ट्रहरुमा वैदेशिक रोजगारीमा पठाउँदा समेत अत्यन्तै कम पारिश्रमिकमा लैजाने गरेको छ । यस्ता कामदारहरुको आम्दानी समेत सरकारले आफ्नै हात पार्ने गरेको बताइन्छ ।
महिला अधिकार
उत्तर कोरियामा महिलामाथिको विवेद र हिंसा अत्यन्तै गम्भीर अवस्थामा पुगिसकेको बताइएपनि अहिलेसम्म यसबारे सही मापन भने गर्न सकिएको छैन । विश्वसामु आफूलाई बराबरीको समाजका रुपमा प्रस्तुत गरेपनि त्यहाँका महिलाहरु रोजगारी र शिक्षाबाट बञ्चित हुने गरेका छन् । उता लगातार हिंसाको शिकार हुने गरेपनि महिलाहरुले आफ्नो गुनासो पोख्ने ठाउँ नपाउँदा सबै सहेरै बस्नुपर्ने भएको बताइन्छ ।
बालबालिका र कूपोषण
उत्तर कोरियाली बालबालिकाहरुलाई शिक्षाको सुविधा दिइएपनि आफ्नो परिवारलाई आर्थिक मद्दत गर्न उनीहरु पढाइ पूरा नभइ विद्यालयबाट बाहिरिने गरेको बताइन्छ । शिक्षण संस्थाहरु पनि राजनीतिक एजेन्डा अनुरुप चल्ने भएकाले सानै उमेरदेखि नै उनीहरुलाई एकदम सिमित शिक्षा मात्र दिइने गरिएको हो । त्यसैगरी युनिसेफको तथ्याङ्कले भने २ लाख भन्दा बढी बालबालिकाहरु कूपोषणको शिकार भएको देखाएको छ । यस समस्याबारे पनि उत्तर कोरियाले कहिल्यै उल्लेख गर्ने गरेको छैन ।
संयुक्त राष्ट्र संघले उत्तर कोरियामा मानवअधिकार विरोधी कार्यबारे गम्भीर आरोप लगाउँदै आएको छ । तर ट्रम्प र किमको बैठकमा भने सो विषयमा कुनै कुरा नहुने बताइएको छ । अहिलेका लागि माथि उल्लेखित थुप्रै विवादित मुद्दाहरुलाई पछिका लागि राखिएको र सिंगापूरको बैठक सर्वप्रथम शान्ति स्थापनामै केन्द्रित रहने बताइएको हो । १२ खरी बाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।