तस्विर गुगल

११ जेठ,केन्द्रदेखि जिल्लासम्म कार्यालय कटौती भएपछि करारमा कार्यरत करिब १२ हजार कर्मचारीको व्यवस्थापन गर्न सरकारलाई मुस्किल देखिएको छ।केन्द्रमा मन्त्रालय र विभाग तथा जिल्लामा कार्यालय संख्या घटेपछि तिनमा वर्षौंदेखि कार्यरत करारका कर्मचारीको व्यवस्थापनमा समस्या भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए।

 

जिल्लामा दुई दर्जन रहेका कार्यालय ९ वटामा सीमित भएका छन्।केन्द्रका ३० मन्त्रालय २१ र ५४ वटा विभाग ३९ मा झारिएको छ । मन्त्रालय र विभागहरू मर्ज भएपछि ती कार्यालयमा करारका कर्मचारीको एकै ठाउँमा ओइरो लागेको अधिकारीले बताए।

 

खासगरी कुचीकार, कार्यालय सहयोगी, बगैंचामा काम गर्ने कर्मचारी, सवारीचालक, कम्प्युटर ९आईटी० लगायतमा करिब १० देखि १२ हजार कर्मचारी करारमा कार्यरत छन् । यसमध्ये सबभन्दा बढी सवारीचालक छन् ।

 

मन्त्रालयमा मन्त्री फेरिएसँगै ज्यालादारी र अस्थायी कर्मचारी भर्ती गर्ने प्रवृत्तिले करारका कर्मचारी यति धेरै भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। सचिव र महानिर्देशकले पनि करारमा कर्मचारी भर्ना गर्ने गरेका छन् ।

 

‘मर्ज भएका मन्त्रालय र विभागहरूमा करार कर्मचारीको संख्या धेरै भएको छ,’ अधिकारीले कान्तिपुरसित भने, ‘उनीहरूको व्यवस्थापन सरकारलाई घाँडो भएको छ, के गर्ने अहिलेसम्म सोच्न सकेका छैनौं।’