file photo

१० जेठ – नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पहिलो वैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । सपथ गर्न बिहीवार छुटेका केन्द्रीय सदस्यको सपथ तथा निर्वाचन आयोगमा दल दर्ता सम्वन्धी प्रक्रिया पुरा गर्नेवारे छलफल हुने बताइएको छ ।

बैठकलाई अध्यक्षद्वयले सम्वोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ४४१ र चार आमन्त्रित गरी ४४५जना केन्द्रीय सदस्यलाई बधाई दिंदै पार्टी एकतापछिको जिम्मेवारी र दायित्वबारे निर्देशन दिनुहुनेछ ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्नका लागि विकास र समृद्धिमा केन्द्रिकृत हुनुपर्ने सरकारको धारणा राख्दै त्यसमा सहयोगी भूमिकामा रहन सबैलाई निर्देशन दिने बताइएको छ । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय सदस्यलाई सम्वोधन गर्नुहुनेछ ।

केन्द्रीय समितिको पहिलो वैठकमा अध्यक्षद्वयले पार्टीको भूमिका र आगामी रणनीतिबारे केन्द्रीय सदस्यलाई ब्रिफिङ समेत गर्नुहुने केन्द्रीय सदस्य सुवास नेम्वाङले बताउनुभयो । केन्द्रीय सदस्य पम्फा भुसालले निर्वाचन आयोगमा सवै केन्द्रीय सदस्यको हस्ताक्षर वुझाउनुपर्ने भएकाले आज बैठक बोलाईएको जानकारी दिनुभयो ।