
जेठ ९ – २०१८ को आईपीएलमा दिल्ली डेयरडेभिल्सको यात्रा टुंगिसकेको छ ।
उसले सुरुका दुई खेल हारेको थियो भने अन्तिमका २ खेलहरुमा चेन्नइ सुपर किंग्स तथा मुम्बइ इन्डियन्सजस्ता हस्ती क्लबहरुविरुद्ध शानदार जित निकाल्न सफल भएको थियो । चेन्नइ २ पटक तथा मुम्बइ ३ पटक आईपीएल विजेता रहिसकेका क्लबहरु हुन् ।
दिल्ली आफूले खेलेको १४ मध्ये ५ खेलमा मात्र जित हात पारेर १० अंकका साथ अंकतालिकाको पुछारमा रहँदै यो सिजनको आईपीएल यात्रा टुंग्यायो । यसरी हेर्दा उसको यो सिजनको आईपीएलको प्रदर्शन खराब रह्यो । समग्र नतिजा खराब रहेपनि दिल्लीका केही खेलाडीहरुले यो सिजनमा निक्कै राम्रो प्रदर्शन गरे । दिल्लीका ऋषभ पन्तले सर्वाधिक ६८४ रन बनाए भने बलर ट्रेण्ट बोल्टले सर्वाधिक १८ विकेट लिए ।
https://twitter.com/DelhiDaredevils/status/999168047050100736
यी बाहेक दिल्लीले ३ होनहार खेलाडीहरुको पनि प्रतिभा प्रस्फुटन गरायो । ती तीन खेलाडीमध्ये नेपालका १६ वर्षे लेग स्पीनर सन्दीप लामिछाने पनि छन् ।
दिल्लीले यो सिजनमा पाएको होनहार प्रतिभाको सूचीमा सन्दीप लामिछानेलाई १ नम्बरमा राखेको छ । दोस्रोमा पृथ्वी शा तथा तेस्रोमा अभिषेक शर्मा परेका छन् । पृथ्वी र अभिषेक दुवै ब्याट्सम्यान हुन् ।
अब्बल सन्दीप
सन्दीपलाइ पहिलो ११ खेलसम्म प्लेइङ ११ मा राखिएन । १२ औं खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरका विरुद्ध पहिलोपल्ट खेल्ने मौका पाए । पहिलो खेलमा पहिलो ओभर नै उनलाइ थमाइएको थियो । उनले आत्मविश्वासी हिसाबले बलिङ गरे ।
सन्दीपले बेंग्लोरका पार्थिब पटेलको विकेट लिएपछि क्रिजमा रहेका ए बी डीभीलीयर्स र विराट कोहलीलाई बलिङ गर्ने मौका पाए । उनको स्पिनमा डीभीलीयर्स पनि जसोतसो आउट हुन बाट बचे ।
४ ओभरको स्पेलमा कुनै अतिरिक्त रन नदिइ २५ रन खर्च गर्दै १ विकेट लिंदा नेपालका १५ वर्षे ठिटो सबैका छलफलको विषय बने ।
उनले दोस्रो खेलमा चेन्नइका सुरेश रैनाको विकेट लिए । त्यो खेल दिल्लीले ३४ रनले जित्यो ।
तेस्रो खेलमा मुम्बइ इन्डियन्सलाई ११ रनले हराउँदा सन्दिपको योगदान स्मरणीय रह्यो । उनले सूर्यकुमार यादव, कायरन पोलर्ड तथा क्रुणाल पाण्ड्याको महत्वपूर्ण विकेट लिएका थिए । उनले समग्रमा ३ खेलमा १६।४४ को औसतमा ५ विकेट लिंदै ६।८३ को इकोनोमीका साथ जम्मा ८२ रनमात्र खर्चिएका थिए ।
यी सबै खेलमा भारतका अभिषेक शर्मा तथा पृथ्वी शा को योगदान पनि महत्वपूर्ण रह्यो ।
सन्दीपसँगै १२ औं खेलमा डेब्यू गरेका अभिषेकले बेंग्लोविरुद्ध अविजित १९ बलमा ४६ रन बनाएका थिए । पृथ्वी शा भने पहिले नै हैदराबाद विरुद्ध ६५, राजस्थान रोयल्सविरुद्ध ४७ तथा कोलकाताविरुद्ध ६२ रन बनाउँदै यू १९ विश्वकप जिताउने टिमको कप्तान तथा सुरुवाती ब्याट्सम्यान भएको तथ्य प्रमाणित गरिसकेका थिए । उनले ९ खेलमा जम्मा २४५ रनको योगदान दिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।