
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई दुवै पार्टीका माथिल्लो निकायले अनुमोदन गरेका छन् भने एमालेले आज आकस्मिक केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।
एमालेले केन्द्रीय कमिटीको बैठकबाटै एकताका लागि भएको सहमतिलाई अनुमोदन गर्ने तयारी गरेको छ ।
बिहान ११ बजे केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ । त्यसअघि आजै १० बजे दुवै पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक पनि बोलाइएको छ ।स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले उठाएका आशंका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले हटाइदिएपछि एकताको वातावरण बनेको थियो ।
स्रोतका अनुसार आवश्यकताअनुसार सरकारको नेतृत्व पनि पालैपालो गर्ने सहमति दुई नेताबीच भएको छ । तर अहिले सहमतिपत्रमा भने उक्त कुरा उल्लेख नगर्ने सहमति भएको स्रोतले जानकारी दियो ।दुवै पार्टीको बैठकपछि आजै दिउँसो पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगमा पार्टी दर्ताको प्रक्रिया अघि बढाउने तयारी पनि दुवै दलले गरेका छन् । अब नयाँ बन्ने नेकपा पार्टीमा दुईजना अध्यक्ष हुनेछन् । दुवैले पालैपालो बैठकको अध्यक्षता गर्नेछन् भने निर्णयमा पनि दुवैको हस्ताक्षर हुनेछ ।
केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ भने त्यसमा २४१ एमालेका र २०० माओवादी केन्द्रका रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । स्थायी समिति ४३ सदस्यीय हुनेछ जसमा एमालेका २५ र माओवादी केन्द्रका १८ सदस्य रहनेछन् । महाधिवेशन २ वर्षभित्र गर्ने र नेतृत्व सहमतिकै आधारमा चयन गर्ने विषयमा पनि आन्तरिक सहमति भएको छ ।
एमाले स्थायी कमिटीको बैठकले दुवै नेताबीच भएको सहमतिलाई अनुमोदन गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीच भएको निर्णयलाई स्वागत गरेको भट्टराईले जानकारी दिए ।
“पार्टी एकता कुन साल, कुन महिनामा होला भन्ने थियो” उनले भने, “ कुन दिन भन्दै अब घण्टातिर आएका छौं । निर्वाचन आयोगमा प्रस्तुत गर्ने विधान, लगायतका विषय एकता संयोजन समितिले टुंगो लगाउनेछ ।”
नेकपा एमालेका नेता वामदेव गौतमले पनि आज पार्टी एकता हुने जानकारी दिए । उनले सबै विवादित विषयको टुंगो लागेको पनि एमाले स्थायी कमिटीको बैठकपछि जानकारी दिएका थिए ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकले दुई नेताबीच भएको सहमतिलाई अनुमोदन गरेको थियो ।मार्गदर्शक सिद्धान्त भने दुवै दलले अपनाउँदै आएका जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशनसम्म लैजाने र त्यहीँबाट टुंगो लगाउने सहमति भएको छ ।#१२ खरिबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।