नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिक स्वरूप परिवर्तन भएकाले अब बन्द हड्ताल गर्नु नपर्ने बताएका छन्।आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झन्डा देखाउने लगायत नाराजुलुस गरेर बन्द हड्ताल गर्ने दिनको अन्त्य भएको प्रवक्ता शर्माले बताएका हुन्।

 

झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले शनिबार आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले यस्तो धारणा राखेका हुन्।

अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैंका लागि अन्त्य गर्नुपर्ने आवश्यकता उनले औंल्याए। उनले राजनीतिक संस्कार विस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवा नेतृत्वको खाँचो रहेको शर्माले बताए।

उनले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त नसक्ने हुँदा युवाले असल राजनीतिक संस्कारलाई जोड दिनुपर्ने प्रवक्ता शर्माको भनाइ छ। प्रजातन्त्र, लोकतन्त्र नारा जुलुस गर्न पाउनु मात्र नभएर नागरिकले मौन रूपमा राखेका मागलाई भने राज्यले उचित सम्बोधन गर्नुपर्ने उनले बताए।रासस