वैशाख २८ – जनकपुर रामायण सर्किटमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरदेखि अयोध्या सिधा बस सेवाका लागि हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै यो सर्किटको पनि उद्घाटन भएको हो ।

जनकपुरमा रहेको जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले सर्किटको उद्घाटन पछि पर्यटनको माध्यमबाट दुवै देशबिचको सम्बन्ध र आर्थिक विकासमा महत्वपुर्ण योगदान पुग्ने दावी गर्नुभयो ।


त्यसअघि, भारतीय प्रधानमन्त्री मोदीले एकादशीको दिन जानकी मन्दिरमा आउन पाउनु आफ्ना लागि सौभाग्य भएको बताउनुभएको थियो । प्रधानमन्त्री केपी ओलीले यो भूमिमा ऋषीमुनिहरुको शास्त्रार्थ र शस्त्रार्थ हुने गरेको जनकपुर र समग्र नेपाल नै ज्ञानभूमि तपोमूभिका रुपमा रहेको र अनेकौ विद्वानहरु पैदा भएको स्मरण गर्नुभयो । रामजानकी, बाल्मिकी, लवकुश हुर्किको ठाउँ, धनुषधाम लगायत ठाउँको सम्झना हुने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।