२७ बैशाख,विवेकशील साझा पार्टीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणको स्वागत गरेको छ । मोदीको भ्रमणले दुई देशबीचमा कतिपय विषयमा देखिएको अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान गर्ने विवेकशील साझाको विश्वास छ ।

 

 

‘नेपाल सरकारको निम्तोमा आउन लागेका विशिष्ट अतिथिलाई विवेकशील साझा पार्टी हार्दिक स्वागत गर्दछ’, पार्टीले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।साथै उसले मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उनको भ्रमणलाई यहाँको राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

मोदीको भ्रमणले नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसारमा सकारात्मक योगदान पुग्ने विवेकशीलको ठहर छ ।‘अन्तर्राष्ट्रिय छविका विशिष्ट पाहुनाबाट जनकपुरको भ्रमण र जानकी मन्दिरको दर्शन हुने विषयलाई हामीले राष्ट्रिय गौरवका रूपमा लिएका छौँ ।

जानकी मन्दिर सहित मुस्ताङको मुक्तिनाथ मन्दिरमा प्रधानमन्त्री मोदीले गर्ने धार्मिक अनुष्ठानले विश्वभर र विशेष गरी भारतीय जनता समक्ष यी दुवै स्थानको पहिचान र प्रचारप्रसारमा सकारात्मक योगदान पु¥याउने छ भन्ने हामीले ठानेका छौँ’, विवेकशीलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उनको भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगरियोस् भन्ने हाम्रो आग्रह छ ।’

विवेकशीलले भारतले नेपालमा २०७२ सालमा गरेको नाकाबन्दीप्रति प्रधानमन्त्री मोदीले क्षमा माग्नु जायज हुने बताएको छ ।

त्यसैगरी विगतका तिता अनुभव मेटिने गरि नेपाल–भारतबीच रहेका सीमा तथा सीमा क्षेत्रका भारतीय बाँधले उत्पन्न गरेको बाढी लगायतका विवादका विविध मुद्दाहरूको निरूपण गर्न पनि पारस्पारिक सम्मानका आधारमा दुवै देशका सरकारबाट पहल होस भन्ने विदेश विभाग प्रमुख डा. दिनेश प्रसाईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।